बारा–पर्सा औद्योगिक कोरिडोर भएर बग्ने वीरगञ्जको सिर्सिया नदीको प्रदूषण कुनै नयाँ समस्या होइन । वर्षौंदेखि औद्योगिक फोहोर, अव्यवस्थित ढल निकास, घरायसी फोहोर र कमजोर वातावरणीय नियमनका कारण नदीको प्राकृतिक स्वरूप संकटमा पर्दै गएको छ । प्रत्येक वर्ष छठ पर्व नजिकिँदै गर्दा नदी सफाईको विषयले प्राथमिकता पाउँछ । सरकारी निकाय, उद्योगी, स्थानीय तह, राजनीतिक दल तथा सामाजिक संघसंस्था सरसफाई अभियानमा सक्रिय हुन्छन् । नदीमा थुप्रिएको फोहोर हटाइन्छ, पानी सफा देखाउने प्रयास गरिन्छ र छठ व्रतालुका लागि अनुकूल वातावरण बनाउने पहल गरिन्छ । तर, पर्व सकिएपछि प्रदूषणको पुरानै चक्र दोहोरिन्छ ।
छठ पर्वका बेला सिर्सिया नदीको सरसफाईलाई प्राथमिकता दिनु सकारात्मक भए पनि यसलाई स्थायी समाधानका रूपमा लिन सकिँदैन । केही दिनका लागि नदी सफा देखिनु र नदीको पानी वास्तवमै प्रदूषणमुक्त हुनु दुई फरक विषय हुन् । तत्कालीन रूपमा सफा देखाउने प्रयासले नदीमा मिसिइरहेको औद्योगिक फोहोर, ढल तथा रासायनिक पदार्थको समस्या समाधान गर्दैन । वास्तविक समस्यालाई केही समयका लागि ओझेलमा पार्ने जोखिम हुन्छ । नदी सफाईलाई पर्व विशेषको अभियानबाट बाहिर निकालेर नियमित वातावरणीय व्यवस्थापनको विषय बनाउन आवश्यक छ ।
सिर्सिया नदी प्रदूषित हुनुमा औद्योगिक गतिविधि एउटा महत्वपूर्ण कारण हो । वीरगञ्ज र आसपासका क्षेत्रमा उद्योगको विस्तारसँगै औद्योगिक फोहोर व्यवस्थापनको चुनौती पनि बढेको छ । उद्योगबाट निस्कने फोहोर पानी उचित प्रशोधनबिना नदीमा मिसाइँदा जलस्रोतको गुणस्तर बिग्रिएको छ । औद्योगिक विकास आर्थिक समृद्धिका लागि आवश्यक भए पनि त्यसको मूल्य वातावरण र नागरिकको स्वास्थ्यले चुकाउनुपर्ने अवस्था स्वीकार्य हुन सक्दैन । उद्योग सञ्चालनको अनुमति दिनुमात्र राज्यको जिम्मेवारी होइन, वातावरणीय मापदण्डको पालना गराउनु पनि उत्तिकै महत्वपूर्ण दायित्व हो । प्रदूषण नियन्त्रणका लागि आवश्यक प्रशोधन प्रणाली सञ्चालन नगर्ने उद्योगमाथि प्रभावकारी अनुगमन र कानूनी कारवाही हुनुपर्छ । उद्योगको उत्पादन क्षमता र आर्थिक योगदानका आधारमा वातावरणीय दायित्वमा छूट दिन मिल्दैन ।
सिर्सिया नदीको प्रदूषणलाई उद्योगसँग मात्र जोडेर हेर्नु पनि पर्याप्त हुँदैन । शहरीकरणसँगै बढेको जनसंख्या, अव्यवस्थित बस्ती विस्तार, ढल निकासको अभाव र घरायसी फोहोर व्यवस्थापनको कमजोरीले समस्या थप जटिल बनाएको छ । वीरगञ्ज महानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका तथा परवानीपुर क्षेत्रबाट निस्कने ढल र फोहोरको उचित व्यवस्थापन हुन नसक्दा नदी थप प्रदूषित भइरहेको छ । उद्योगलाई मात्र दोष दिएर वा स्थानीय नागरिकलाई मात्र जिम्मेवार ठहर गरेर समाधान खोज्नु प्रभावकारी हुँदैन । प्रदूषणका सबै स्रोत पहिचान गरी तिनको जिम्मेवारी निर्धारण गर्नुपर्छ ।
दीर्घकालीन समाधानका लागि सिर्सिया नदीको करिडोरमा व्यवस्थित पानी प्रशोधन केन्द्र निर्माण गर्नु अपरिहार्य देखिन्छ । औद्योगिक फोहोर पानी र नगर क्षेत्रको ढललाई छुट्टाछुट्टै प्रशोधन गर्ने प्रणाली विकास गर्नुपर्छ । उद्योगहरूलाई आफ्नै प्रशोधन केन्द्र निर्माण तथा सञ्चालन गर्न बाध्य बनाउनुका साथै आवश्यक स्थानमा साझा औद्योगिक प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ । त्यसैगरी शहरी ढल प्रशोधनका लागि स्थानीय तहले आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ । यस्ता आयोजना सञ्चालन गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले संघीय, प्रदेश र स्थानीय सरकारबीच वित्तीय तथा प्राविधिक साझेदारी हुनुपर्छ । उद्योगीहरूको सहभागिता र जिम्मेवारी पनि सुनिश्चित गरिनुपर्छ ।
संघीय सरकारका उद्योग तथा वातावरणसम्बन्धी निकायले गरेको स्थलगत अनुगमन र अध्ययनलाई लिन सकिन्छ । अनुगमनबाट प्राप्त प्रतिवेदनले नदी प्रदूषणका स्रोत, प्रकृति र नियन्त्रणका सम्भावित उपाय पहिचान गर्न सहयोग पु¥याउन सक्छ । तर, प्रतिवेदन तयार हुनु नै उपलब्धि होइन । कार्यान्वयनयोग्य योजनामा रूपान्तरण गर्नु मुख्य चुनौती हो । अध्ययनका निष्कर्ष सार्वजनिक गर्ने, प्रदूषणका स्रोत पहिचान गर्ने, जिम्मेवार निकाय तोक्ने र निश्चित समयसीमाभित्र काम सम्पन्न गर्ने व्यवस्था हुनुपर्छ । अन्यथा विगतमा जस्तै अध्ययन र प्रतिबद्धतामै समस्या सीमित हुने जोखिम रहन्छ ।
अर्को महत्वपूर्ण पक्ष अन्तरसरकारी समन्वय हो । सिर्सिया नदीको संरक्षण कुनै एउटा स्थानीय तहको अधिकारक्षेत्र वा क्षमताले मात्र सम्भव हुँदैन । नदीसँग जोडिएका विभिन्न पालिका, प्रदेश र संघीय सरकारका निकायबीच साझा कार्ययोजना आवश्यक छ । नदी संरक्षणको जिम्मेवारी एउटा निकायबाट अर्को निकायमा पन्छाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । सिर्सिया नदीको प्रदूषण वातावरणीय संकटमात्र नभई सार्वजनिक स्वास्थ्यको गम्भीर विषय पनि हो । प्रदूषित पानीको प्रत्यक्ष सम्पर्कले छालासम्बन्धी समस्या तथा अन्य स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । नदी आसपासका बासिन्दा, किसान र जलचर प्रत्यक्ष प्रभावित भइरहेका छन् ।
नागरिक सहभागिता र सार्वजनिक निगरानीलाई पनि संस्थागत गर्नुपर्छ । नदीमा फोहोर फाल्ने, ढल मिसाउने वा प्रदूषण गर्ने गतिविधिलाई निरुत्साहित गर्न नागरिक सचेतना आवश्यक छ । स्थानीय समुदाय, उद्योग, नागरिक समाज र सञ्चारमाध्यमले प्रदूषण नियन्त्रणमा निरन्तर निगरानी गर्न सक्छन् । नदीको पानीको गुणस्तर, उद्योगहरूको वातावरणीय अनुपालन र सरकारी योजनाको प्रगति नियमित रूपमा सार्वजनिक गर्ने प्रणाली विकास गरिनुपर्छ । पारदर्शिता र सार्वजनिक जवाफदेहिताले मात्र सरकारी प्रतिबद्धतालाई परिणाममा बदल्न सक्छ ।
सिर्सिया नदीको संरक्षणलाई अब छठ पर्वसँग मात्र जोडेर हेर्ने दृष्टिकोण बदल्नुपर्छ । छठले नदी सफाईको आवश्यकता सम्झाउने अवसर प्रदान गरे पनि नदी संरक्षणको जिम्मेवारी वर्षभरि निरन्तर रहनुपर्छ । यसका लागि तत्कालीन सरसफाईसँगै ढल व्यवस्थापन, औद्योगिक प्रदूषण नियन्त्रण, प्रशोधन केन्द्र निर्माण, नियमित अनुगमन र अन्तरसरकारी समन्वयलाई प्राथमिकतामा राख्नुपर्छ । विकास र वातावरणबीच सन्तुलन कायम गर्नु राज्यको दायित्व हो । सिर्सिया नदीलाई प्रदूषित हुन दिने अनि पर्व आउँदा सफा गर्ने चक्रले न त धार्मिक आस्थाको सम्मान गर्छ, न त वातावरणीय न्याय सुनिश्चित गर्छ । अब आश्वासनभन्दा कार्यान्वयन, अस्थायी सरसफाईभन्दा संरचनागत सुधार र जिम्मेवारी पन्छाउने प्रवृत्तिभन्दा स्पष्ट जवाफदेहिता आवश्यक छ । सिर्सिया नदीको भविष्य केही दिनको सफाईले होइन, दीर्घकालीन नीतिगत हस्तक्षेप र प्रभावकारी कार्यान्वयनले निर्धारण गर्नेछ ।