२५औँ पर्सा दिवस समारोह–२०८३ को अवसरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित भएकी छन। पर्सा मिलन केन्द्रले स्वास्थ्य क्षेत्रतर्फ उनले पुर्याएको सेवा, समर्पण र योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरेको जनाएको छ ।
प्रमुख अतिथि प्रा.डा. पृथ्वीराज लिगल तथा पर्सा मिलन केन्द्रका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष गोविन्दप्रसाद नेपालले डा. थापालाई सम्मान गरेका थिए।
आयोजकका अनुसार डा. थापा वीरगञ्जमा रहेर लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित अनुभवी तथा प्रतिष्ठित चिकित्सक हुन। प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा २२ वर्षभन्दा बढीको अनुभव रहेको छ। उनले काठमाडौंको प्रसूति गृह, पाटन अस्पताल तथा वीरगञ्जस्थित नारायणी अस्पतालमा सेवा प्रदान गरिसकेकी छन।
हाल उनी वीरगञ्जस्थित प्रभु अस्पतालमा पूर्णकालीन परामर्शदाता प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत छन। चिकित्सा सेवासँगै सामाजिक सेवा तथा महिला सशक्तीकरणका क्षेत्रमा पनि उनको सक्रिय योगदान रहँदै आएको छ। उनी लायन्स क्लब रिजन चेयरपर्सन, वीरगञ्ज उद्योग वाणिज्य संघको महिला उद्यमशीलता विकास समितिको संयोजक पनि हुन् ।
चिकित्सा सेवा, सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र महिला सशक्तीकरणप्रतिको उनको निरन्तर सक्रियता प्रशंसनीय रहेको पर्सा मिलन केन्द्रले जनाएको छ।
२५औँ पर्सा दिवस समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने सात जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमा मुखदेवप्रसाद साह कानु, कला, साहित्य तथा संस्कृतिमा अशोक प्रधान, उद्योग तथा व्यवसायमा गोपाल केडिया, स्वास्थ्यमा डा. लक्ष्मी थापा, खेलकुदमा आफताव आलम, सामाजिक क्षेत्रमा राजकृष्ण अमात्य तथा सञ्चार, विज्ञान तथा प्रविधिमा निरञ्जन मिश्र सम्मानित भएका छ्न।
समारोहले पर्सा जिल्लाको सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक तथा व्यावसायिक विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्दै समाजमा सकारात्मक योगदानका लागि प्रेरणा प्रदान गर्दै आएको छ।