राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मधेसमा आएको खडेरीको समस्या समाधानका लागि देखिने 'दृश्य भ्रम' सिर्जना मात्रै नगर्न सुझाव दिएकी छन्। उनले हेलिकप्टरबाट अवलोकन गर्न जाँदैमा समस्या समाधान नहुने स्पष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित टिप्पणी गरेकी हुन्।
“खडेरी पर्यो भनेर हेलिकप्टरमा हेर्न जाँदैमा मधेसमा पानी आउँदैन। चुरेको कुरा जोडिन्छ,” सोमबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आयोजित बैठकमा भूमिसम्बन्धी नेपाल ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले भनिन्।
प्रधानमन्त्री ओली साउन ७ गते खडेरी प्रभावित मधेस क्षेत्रको अवलोकन गर्न पुगेका थिए।
सांसद श्रेष्ठले निर्वाचनमा मात्र केन्द्रित भएर समस्या समाधान खोज्न खोज्नु दीर्घकालीन सोच नहुने उल्लेख गर्दै भनिन्, “चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान हुँदैन। मधेसमा भएको अभावलाई हेर्नुपर्छ, यसमा गम्भीरता देखाउनु पर्छ।”
सार्वजनिक जग्गामा आँखा नलगाउन सरकारलाई आग्रह
श्रेष्ठले सार्वजनिक जग्गालाई जोगाउन सरकार गम्भीर हुनुपर्ने बताउँदै भनिन्, “सार्वजनिक सम्पत्तिमा आँखा नलगाउन सरकारलाई आग्रह गर्दछु।”
त्यसैगरी उनले वन तथा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफाहरू खारेज गर्नुपर्ने माग पनि समितिमा राखेकी छन्।
सांसद श्रेष्ठको अभिव्यक्तिले मधेसको वास्तविक समस्यामाथि गहिरो ध्यान दिनुपर्ने र योजनाहरू व्यवहारिक तथा दीर्घकालीन हुनुपर्ने आवश्यकता औंल्याएको छ।