पर्साको जगरनाथपुर गाउँपालिका वन तथा वातावरण संरक्षण क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत लगातार दोस्रो वर्ष पनि नगद पुरस्कारसहित सम्मानित भएको छ।
संघीय सरकार अन्तर्गतको कृषि, वन तथा पर्यावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा मधेश प्रदेशमै उत्कृष्ट ठहर गर्दै जगरनाथपुर गाउँपालिकालाई प्रथम पुरस्कारस्वरूप १ लाख २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो।
रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीका अनुसार स्थानीय तहमा वन विकास, वातावरण संरक्षण तथा समुदायको आर्थिक समृद्धिमा पुर्याएको योगदानको मूल्याङ्कनका आधारमा जगरनाथपुर गाउँपालिका मधेश प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको हो।
यसअघि पनि गाउँपालिकाले वन तथा वातावरण संरक्षण क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत रेड कार्यान्वयन केन्द्रबाट १ लाख २५ हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरेको थियो।
गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवको नेतृत्वमा सार्वजनिक तथा ऐलानी जग्गाको अतिक्रमण हटाई वृक्षारोपण अभियान सञ्चालन गरिँदै आएको छ। उक्त अभियानले वातावरण संरक्षणसँगै हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले अतिक्रमित जग्गा संरक्षण, वृक्षारोपण तथा वातावरणमैत्री कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका कारण गाउँपालिकाले लगातार दोस्रो वर्ष यो सम्मान प्राप्त गरेको बताए।
उनले वातावरण संरक्षण र हरित विकासका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गर्दै यस सम्मानले थप जिम्मेवारी र उत्साह प्रदान गरेको प्रतिक्रिया दिए।