वीरगञ्ज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको समयसीमा दिएको छ ।
महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा स्थानान्तरण हुन महानगर क्षेत्रभित्र छरिएर थोक कारोबार गरिरहेका सबै व्यवसायीलाई निर्देशन दिएको हो ।
महानगरपालिकाका अनुसार सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा थोक कारोबार हुँदा बजार व्यवस्थापन, यातायात आवागमन र उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न भइरहेको छ । यस्ता समस्या समाधान गर्न थोक व्यवसायलाई एकै स्थानमा केन्द्रित गर्ने उद्देश्यले छपकैयामा व्यवस्थित बजार निर्माण गरिएको महानगरले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनाअनुसार व्यवसायीले आगामी कात्तिक २ गतेभित्र आफ्नो सम्पूर्ण थोक कारोबार वडा नम्बर २ छपकैयास्थित निर्धारित बजारमा स्थानान्तरण गरिसक्नुपर्नेछ ।
तोकिएको समयभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिकाले चेतावनी दिएको छ । निर्धारित समयपछि पनि बजार नसार्दा उत्पन्न हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यवसायी स्वयंले लिनुपर्ने सूचनामा उल्लेख छ ।
महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभाबी थोक बजार सञ्चालन नगर्न र तोकिएको स्थानमै कारोबार गर्न व्यवसायीलाई आग्रह गरेको छ । बजार व्यवस्थित बनाउने, सार्वजनिक स्थानको अतिक्रमण रोक्ने तथा सहरको सरसफाइ र स्वच्छता कायम गर्ने अभियानमा सहयोग गर्नसमेत महानगरले अनुरोध गरेको छ ।
छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजार सञ्चालनमा आएपछि वीरगञ्जको मुख्य बजार क्षेत्रमा हुने अव्यवस्थित कारोबार र यातायात आवागमनको समस्या कम हुने महानगरपालिकाको अपेक्षा छ ।
