दीपावली पर्व सकिएसँगै मधेशमा आस्थाको महापर्व छठ आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गर्दैछन् ।
चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वको दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
छठ पर्वमा जातीय, वर्गीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर सबै एकै ठाउँमा भेला भई सूर्यदेव र षष्ठीदेवीको आराधना गर्ने परम्परा छ । यस पर्वले आपसी सद्भाव, एकता, सहकार्य र सामाजिक समानताको सन्देश दिने विश्वास गरिन्छ । पुराना मनमुटाव बिर्सेर सबैले मिलेर पर्व मनाउने चलनले यसको सामाजिक महत्त्वलाई थप उजागर गरेको छ ।
छठको आगमनसँगै तराई क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । पर्वको तयारीस्वरूप घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने गीतले मिथिलाको वातावरण छठमय बनेको छ ।
स्थानीयवासी नदीकिनार, पोखरी तथा अन्य जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवाहरू छठघाट निर्माण, सजावट तथा व्यवस्थापनमा सक्रिय देखिएका छन् ।
त्यस्तै, घरका भित्ता लिपपोत तथा रङरोगन गरी सजाउने, सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने काम पनि भइरहेको छ । बाँसका भाटा तथा झिक्राको प्रयोग गरी छठका लागि आवश्यक सामग्री र सजावट तयार पार्ने काममा समेत स्थानीयवासी व्यस्त छन् ।
धनी–गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा, निष्ठा र भक्तिपूर्वक मनाउने छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गर्दै आएको छ ।