नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सबै कम्युनिस्ट पार्टीलाई एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन्। एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको अभिव्यक्ति दिएको १२ दिनमै प्रचण्डले सबै कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गरेका हुन्।
मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले देश सङ्कटमा रहेको भन्दै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
‘एमालेदेखि हिजो माओवादी धारामा रहेका सबै समूहलाई एकताबद्ध बनाउने जिम्मेवारी हामी सबैको काँधमा छ। केपी ओली, मोहनविक्रम, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत सबै बाँकी कम्युनिस्ट समूह एकताबद्ध हुनुपर्ने आजको देशको आवश्यकता बनेको छ,’ उनले भने।
यसअघि कात्तिक ७ गते पेरिसडाँडामै आयोजित राष्ट्रिय जागरण अभियान घोषणा कार्यक्रममा प्रचण्डले एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका थिए। एमालेले आत्मसमीक्षा गर्न नसक्ने आरोप लगाउँदै उनले इतिहास र पृष्ठभूमिका विषयमा धेरै समीक्षा गर्न बाँकी रहेको बताएका थिए।
तर, हालै माओवादीका पूर्वकार्यकर्ता उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गरेपछि प्रचण्डले आफ्नो नेतृत्वको पार्टीलाई सबै कम्युनिस्ट शक्तिको साझा केन्द्रका रूपमा प्रस्तुत गरेका छन्।
उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत २६ वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा उमा भुजेल नेतृत्वको समूह थपिएपछि घटकको संख्या २७ पुगेको छ। अब थप ४–५ घटकलाई समेत समेटेर सम्पूर्ण कम्युनिस्टहरूको एउटै पार्टी बनाउने उनको लक्ष्य छ।
यद्यपि, एमालेसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले स्पष्ट पारेका छन्। उनका अनुसार एमालेसँग अहिले सत्ता सहकार्य भइरहेको छ भने आगामी स्थानीय तह निर्वाचनमा कम्युनिस्ट घटकबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
ज्वालाले चुनावी परिणाम अनुकूल आएमा भविष्यमा पार्टी एकताको सम्भावना पनि खुला रहने बताएका छन्।
गत साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएको थियो। आगामी स्थानीय तह निर्वाचनसम्म सहकार्य गर्ने समझदारी भए पनि त्यसलाई पार्टी एकतासम्म पुर्याउने विषयमा राजनीतिक वृत्तमा चर्चा हुँदै आएको छ।
यसैबीच एमाले सचिव महेश बस्नेतले प्रचण्ड र कांग्रेस सभापति गगन थापा सहकार्यको बाटोमा अघि बढेको भन्दै खुसी व्यक्त गरेका छन्। उनले पछिल्लो राजनीतिक घटनाक्रम र राज्यका संस्थागत संरचनामाथि परेको दबाबले राष्ट्रिय हित तथा संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउनुपर्ने अवस्था सिर्जना गरेको बताएका छन्।
एमाले र माओवादी केन्द्रबीच यसअघि पनि पार्टी एकता र सत्ता सहकार्यको अनुभव छ। २०७४ सालको निर्वाचनमा चुनावी गठबन्धन गरेका दुई दलबीच २०७५ जेठ ३ गते पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो। तर, ओली र प्रचण्डबीचको सत्ता तथा शक्ति संघर्षका कारण तीन वर्ष नपुग्दै पार्टी विभाजन भएको थियो।
त्यसपछि २०७९ सालको निर्वाचनपछि पनि एमाले र माओवादी केन्द्रबीच सत्ता सहकार्य भएको थियो। तर, त्यो सहकार्य पनि लामो समय टिक्न सकेन।
यही पृष्ठभूमिमा अहिले दुवै दलका नेताहरू तत्काल पार्टी एकताको सम्भावना नरहेको बताइरहेका छन्। आगामी निर्वाचनसम्म सहकार्य गर्दै आपसी विश्वासको वातावरण बनेमा मात्रै एकताको प्रक्रियामा अघि बढ्ने उनीहरूको भनाइ छ।