पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले औद्योगिक प्रदूषणका कारण सिर्सिया नदीको अस्तित्व नै संकटमा परेको भन्दै सरकारसँग तत्काल प्रभावकारी हस्तक्षेपको माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले प्रशोधन नगरी रासायनिक फोहोर पानी सिधै सिर्सिया नदीमा मिसाइरहेको आरोप लगाए। उनले यसले नदीको प्राकृतिक स्वरूप नष्ट हुनुका साथै वातावरणीय तथा जनस्वास्थ्यमा गम्भीर असर परेको बताए।
उनका अनुसार एक समय वीरगञ्जको पहिचान बनेको सिर्सिया नदी अहिले विषाक्त फोहोरका कारण दुर्गन्धित नालामा परिणत भएको छ। नदीबाट फैलिएको दुर्गन्ध र प्रदूषणले आसपासका बस्तीका स्थानीयवासी प्रत्यक्ष प्रभावित भएका छन् भने नदी लामखुट्टेको प्रजननस्थलसमेत बनेको उनले उल्लेख गरे।
सांसद पन्तले सिर्सिया नदी छठ पर्वसँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा रहेको स्मरण गराउँदै विगतमा श्रद्धालुहरूले यही नदीमा उभिएर सूर्यलाई अर्घ्य दिने गरे पनि अहिले प्रदूषणका कारण त्यस्तो अवस्था नरहेको बताए।
उनले सिर्सिया नदीको संरक्षण र सफाइलाई राजनीतिक दलहरूले निर्वाचनका बेला मात्रै प्राथमिकता दिने तर व्यवहारमा कुनै प्रभावकारी काम नगरेको आरोप लगाए। संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभावका कारण समस्या वर्षेनि जटिल बन्दै गएको उनको भनाइ थियो।
सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद पन्तले औद्योगिक फोहोरको प्रभावकारी व्यवस्थापन, प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी र कारबाही, सिर्सिया नदीको नियमित अनुगमन तथा नदी पुनर्जीवनका लागि ठोस नीति र कार्यक्रम तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।
उनले सिर्सिया नदीको संरक्षण केवल वातावरणीय विषय मात्र नभई वीरगञ्जको जनस्वास्थ्य, धार्मिक आस्था र स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारले प्राथमिकताका साथ आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।