वीरगञ्जका व्यवसायी सन्तोष सर्राफले छठ पर्वको अवसरमा बाराको परवानीपुर गाउँपालिका–४ स्थित चैनपुरका दर्जनौँ विपन्न व्रतालु परिवारलाई पूजा सामग्री वितरण गरेका छन् ।
वीरगञ्ज महानगरपालिका–१० निवासी तथा ‘सन्तोष जी को बिजुली पसल’का सञ्चालक सर्राफले आर्थिक अवस्था कमजोर भएका परिवारलाई छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले आवश्यक पूजा सामग्री सहयोग गरेका हुन् ।
परिवारसहित चैनपुर पुगेका सर्राफले पछाडि पारिएका समुदायका सदस्यहरूलाई आत्मीयतापूर्वक अँगालो हाल्दै छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा उनले समाजमा विद्यमान जातीय विभेद, छुवाछुत तथा सामाजिक भेदभाव अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुपर्ने सन्देश दिएका थिए ।
कार्यक्रममा बोल्दै सर्राफले सामाजिक सद्भाव, भाइचारा र एकता कायम राख्न सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । उनले हिन्दु राष्ट्र कायम गर्ने अभियानलगायत सामाजिक तथा धार्मिक विषयमा सबै समुदाय मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै व्रतालु तथा श्रद्धालुहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरे ।
विगत करिब ३५ वर्षदेखि वीरगञ्जको माईस्थान क्षेत्रमा विद्युत् व्यवसाय सञ्चालन गर्दै आएका सर्राफ पछिल्लो २० वर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सक्रिय छन् । उनी पछिल्लो समय गाउँगाउँ पुगेर विपन्न परिवारलाई सहयोग गर्नुका साथै सामाजिक सद्भाव, भाइचारा र एकताको सन्देश फैलाउँदै आएका छन् ।
जातीय विभेद र छुवाछुतभन्दा माथि उठेर मानवता तथा समानताको सन्देशसहित गरिएको सहयोगको स्थानीयवासीले प्रशंसा गरेका छन् ।