वषात्को समयमा मौसम परिवर्तन, दूषित पानी तथा खानपान र सरसफाईको कमीका कारण विभिन्न भाइरल संक्रमणको जोखिम बढ्ने गर्छ । ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, पखाला तथा बान्ताजस्ता लक्षण देखिन सक्ने भाइरल संक्रमणलाई कतिपयले सामान्य ज्वरोका रूपमा लिने गर्छन् । तर, लक्षणका आधारमा मात्रै भाइरल वा ब्याक्टेरियल संक्रमण छुट्याउन नसकिने भएकाले आवश्यक परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने चिकत्सकहरू बताउँछन् । वर्षात्को मौसममा देखिने भाइरल ज्वरो, यसको लक्षण, संक्रमण फैलिने कारण, उपचार र बच्ने उपायबारे सर्वोत्तम हस्पिटल एण्ड रिसर्च सेन्टरका फिजिसियन डा. सुदीप गुप्तासँग गरिएको कुराकानी:
भाइरल ज्वरो के हो ?
इन्फ्लुञ्जा भाइरसको कारण ज्वरो आउनुलाई भाइरल ज्वरो भनिन्छ । भाइरल ज्वरो धेरै थरिका छन् । भाइरल ज्वरो कुनै रोग होइन, भाइरल संक्रमणको लक्षण हो । शरीरले भाइरसको उपस्थिति पत्ता लगाउँछ र शरीरको तापक्रम बढाएर प्रतिरक्षा प्रतिक्रिया गर्दछ । जसले उच्च तापक्रमले भाइरसको लागि प्रतिकूल वातावरण सिर्जना गर्दछ । प्रतिरक्षा प्रणालीलाई संक्रमणसँग लड्न मद्दत गर्दछ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो । रोग लागेका व्यक्तिको शरीरमा भएको तरल पदार्थबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीले खोक्दा, हाच्छ्युँ गर्दा, हाई काढ्दा उसको शरीरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक र मुखबाट यस्ता भाइरस सर्ने गर्छन् ।
भाइरल ज्वरोका लक्षणहरू कस्ता हुन्छन् ?
भाइरल ज्वरो भाइरसको प्रकार र यसले असर गर्ने प्रणालीहरूको आधारमा फरक रूपमा देखिन सक्छ । भाइरल ज्वरो लक्षणहरू, थकान लाग्ने, शरीर दुखाइ हुने र उच्च ज्वरोले कमजोर हुन्छ । भाइरसले घाँटीको दुखाइ र खोकीजस्ता लक्षणहरू हुन्छ । लामखुट्टेबाट सर्ने भाइरसले डेंगु जस्तै प्रायः ज्वरो, दाग र जोर्नी दुखाइ हुन्छ । गैस्ट्रोइटेस्टाइनल भाइरस जस्तै रोटाभाइरसले पखाला र बान्ताको साथमा ज्वरो ल्याउन सक्छ । धेरैजसो भाइरल ज्वरोहरू केही दिनमा निको भए पनि केही भाइरल ज्वरो लामो समयसम्म रहन सक्छ । जटिलता निम्त्याउन सक्छ । भाइरल ज्वरो आएमा एक्कासी ज्वरो बढ्ने र रोकिने गर्छ, चिसो महशुस हुनु, हल्का खोकी लाग्नु, शरीर दुख्नु, हात खुट्टा र जोर्नी दुख्नु, अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु र आँखा रातो हुन्छ । टाउको दुख्ने, नाकबाट पानी आउने, घाँटी दुख्ने, जीउ दुख्ने, सास लिन गाह्रो हुने हुन्छ । पेट दुख्ने, पखाला लाग्ने हुन्छ । सात दिनभन्दा बढी लगातार उच्च ज्वरो रहन्छ । सास फेर्न गाह्रो हुनु वा छाती दुख्नु, सुख्खा मुख र गाढा पिसाबले पनि भाइरल ज्वरो आएको छ भन्ने कुरा बुझ्नुपर्छ । भाइरल ज्वरोको रहने अवधि भाइरस र व्यक्तिको प्रतिरक्षा प्रतिक्रियामा निर्भर गर्दछ ।
भाइरल ज्वरो किन आउँछ ?
अहिले वर्षात्को समयमा मौसम परिवर्तनसँगै भाइरल ज्वरो आउने गरेको पाइन्छ । भाइरल ज्वरो एक प्रचलित स्वास्थ्य समस्या हो । विभिन्न भाइरल संक्रमणहरूको कारणले गर्दा सबै उमेरका मानिसहरूलाई असर गर्छ । यो शरीरको तापक्रममा वृद्धिको रूपमा प्रकट हुन्छ । जसले आक्रमणकारी भाइरसलाई प्रतिरक्षा प्रणालीको प्रतिक्रियालाई संकेत गर्दछ । यसले दैनिक जीवनलाई असर गर्न सक्छ । गम्भीर अवस्थाहरूमा जटिलताहरू उत्पन्न हुन सक्छन् । विशेषगरी बालबालिका, वृद्धहरू र कमजोर प्रतिरक्षा प्रणाली भएकाहरूलाई भाइरल ज्वरो लाग्ने गर्दछ ।
भाइरल ज्वरोको संक्रमण फैलिने कारणहरू केके हुन् ?
भाइरल ज्वरो विभिन्न कारणहरूले सर्न सक्छ । कुनै बिरामीलाई भाइरल ज्वरो आएको छ भने उसको नजिक स्वस्थ्य मानिस गएर बस्दा भाइरल ज्वरो भएको मानिसले हाछ्युँ गर्दा, खोक्दा, कुराकानी गर्दा, खाना र पानीबाट र रोगीले प्रयोग गरेको कपडा, टावेल प्रयोग गर्दा भाइरसको संक्रमण फैलिने हुन्छ ।
भाइरल ज्वरोको पहिचान कसरी गर्न सकिन्छ ?
भाइरल ज्वरो हो वा होइन पत्ता लगाउन रगतको परीक्षण गर्छाैं । सीबीसी र सीआरपी जाँच गरिन्छ । डेंगुको विशेष जाँच गरिन्छ । हेपाटाइटीस परीक्षण, छातीको एक्सरे गरेर हेर्छौं । ब्याक्टेरियल हो वा भाइरल हो समस्याको पहिचान गरेरमात्र उपचारतर्फ जान्छौं ।
जाँच नगरी एन्टिबायोटिक खान कत्तिको उपयुक्त हुन्छ ?
भाइरल ज्वरो आउँदा केही मानिसहरूले चिकित्सकको सल्लाहबिना ज्वरो घट्ने औषधी, शरीर दुख्यो भनेर पेन किलर र एन्टिबायोटिकलगायतका औषधी खानु हँुदैन । भाइरल ज्वरो एन्टिबायोटिक औषधीले उपचार हुँदैन । वास्तवमा ब्याक्टेरियालाई मार्नको लागि एन्टिबायोटिक्स बनाइएको हुन्छ । यसले भाइरसलाई मार्न सक्दैनन् । अनावश्यक रुपमा एन्टिबायोटिक खाँदा अम्लियपन, पेट दुख्ने र कलेजो र किड्नीलाई नै असर गर्छ । परीक्षणपछि मात्र भाइरल ज्वरो भएमा चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक सेवन गनुपर्छ ।
भाइरल ज्वरोबाट बच्न कस्तो सावधानी अपनाउनुपर्छ ?
लाखुट्टे लाग्ने स्थानमा सरसफाई गर्ने, पानी बढी खाने, खाना राम्रो सरसफाई गरेर पकाउने, बिरामी भएको मानिसले प्रयोग गरेको कपडा अरूले प्रयोग गर्नु हुँदैन । बढी जटिलता भएपछि नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नु पर्दछ । साउन र भदौमा भाइरल ज्वरो देखिने भएकाले खाना र पानीमा सावधानी अपनाउनु पर्दछ । भाइरल ज्वरो तीन दिनदेखि पाँच दिनसम्म प्राय रहन्छ । प्रोटिन भएका खानेकुराहरू बढी खानु पर्दछ । केही जटिलता आएमा नजिकको चिकित्सककहाँ गएर परामर्श लिनु पर्दछ । भाइरलले आक्रमण गरेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ ।