नेपाल कृषि अनुसन्धान परिषद् (NARC) अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुर, बाराको आयोजनामा ‘फार्म मेकानाइजेसन तथा क्लाइमेट स्मार्ट एग्रिकल्चर’ विषयक एकदिने विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो।
उक्त तालिम कार्यक्रममा पर्सा, बारा र रौतहटका गरी करिब ४० जना किसानहरूको सहभागिता रहेको थियो।
कार्यक्रम कृषि अनुसन्धान निर्देशनालयका निर्देशक डा. विशेश्वर प्रसाद यादवको सभापतित्वमा सम्पन्न भएको थियो। राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम (NMAP), पर्साका प्रमुख राम बलम साह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जीवन ठाकुर, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजलाल प्रसाद साह, राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरका संयोजक अजीत कुमार झा, कृषि औजार अनुसन्धान केन्द्र रनिघाटका प्रमुख ई. सचिन मिश्र तथा राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जीतपुरका संयोजक डा. दिलराज यादवलगायतका कृषि क्षेत्रका वैज्ञानिक तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो।
उद्घाटन सत्रमा निर्देशक डा. यादवले तालिमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै आधुनिक कृषि औजार तथा जलवायु–मैत्री प्रविधिको प्रयोगले मात्र उत्पादन वृद्धि र लागत न्यूनीकरण सम्भव हुने बताउनुभयो।
प्राविधिक सत्रमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। जसअन्तर्गत कृषि अनुसन्धान निर्देशनालयको परिचय, पावर टिलर र त्यससँग जडान गर्न सकिने उपकरणहरूको जानकारी, जलवायु–मैत्री कृषि प्रविधि तथा सुख्खा छरुवा धान खेती प्रविधिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूबीच व्यापक छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो।
समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सभापति डा. यादवले तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्न सके मात्र कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गर्दै आधुनिक प्रविधि अपनाउन किसान र प्राविधिकहरूलाई आग्रह गर्नुभयो।