सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले जारी गरेको विज्ञप्तिअनुसार मृतकका परिवारलाई पाउने रकम उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ ।
बिहीबार भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा थिए ।
सरकारले घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । उपचाररत घाइतेको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
यता, मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुझावसहितको प्रतिवेदन तयार पार्न सरकारले पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
