सूर्यदेवको आराधना, शुद्धता र कठोर तपस्यासँग जोडिएको छठ पर्व चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइन्छ । प्रकृतिको पूजा र सूर्यप्रतिको अगाध आस्थाको प्रतीक मानिने छठका प्रत्येक दिनको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व छ ।
छठ पर्वका चार दिनलाई क्रमशः नहाए–खाए, खरना, सन्ध्या अघ्र्य र बिहानको अघ्र्यका रूपमा मनाउने गरिन्छ । यी चारै दिन व्रतालुहरूले शुद्धता, संयम, अनुशासन र भक्तिभावलाई विशेष प्राथमिकता दिन्छन् ।
पहिलो दिनः नहाए–खाए
छठ पर्वको पहिलो दिनलाई ‘नहाए–खाए’ भनिन्छ । यसै दिनदेखि व्रतालुहरू शारीरिक र मानसिक रूपमा शुद्ध भई छठको कठोर व्रतका लागि आफूलाई तयार पार्छन् ।
बिहान सबेरै उठेर हातखुट्टाका नङ काट्ने, चोखो पानीले नुहाउने र सफा कपडा लगाउने परम्परा छ । त्यसपछि पूजा गरी शुद्ध तथा सात्विक भोजन ग्रहण गरिन्छ । यस दिन विशेषगरी रहरको दाल, लौकाको तरकारीलगायतका परिकार खाने चलन छ ।
नहाए–खाए केवल भोजन गर्ने दिनमात्र नभई व्रतको अनुशासनमा प्रवेश गर्ने सुरुवाती चरण पनि हो । यस दिनदेखि व्रतालुहरूले जथाभावी खानपान नगर्ने, शरीर र मनलाई पवित्र राख्ने तथा भगवान्को आराधनामा समर्पित रहने संकल्प लिन्छन् ।
दोस्रो दिनः खरना
छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । यस दिन व्रतालुहरू बिहानै स्नान गरी शुद्ध हुन्छन् र दिनभरि उपवास बस्छन् । साँझपख पूजा सम्पन्न गरेपछि सखरको खीर र गहुँको रोटी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ ।
खरनाको प्रसाद तयार पार्दा शुद्धता र पवित्रतामा विशेष ध्यान दिइन्छ । प्रसाद तयार गर्न सफा स्थान र चोखो सामग्री प्रयोग गरिन्छ । साँझ पूजा गरेपछि व्रतालुले प्रसाद ग्रहण गर्छन् र परिवारका अन्य सदस्य तथा आफन्तलाई पनि प्रसाद वितरण गरिन्छ ।
यस दिन एक छाकमात्र भोजन गरेपछि व्रतालुहरू अझ कठोर उपवासका लागि तयार हुन्छन् । खरनापछि छठको मुख्य दिन अर्थात् षष्ठी तिथिमा ३६ घण्टे निर्जला व्रत सुरु हुन्छ । यस अवधिमा व्रतालुहरूले पानीसमेत नपिई सूर्यदेव र छठी मैयाँको आराधना गर्छन् ।
तेस्रो दिनः सन्ध्या अघ्र्य
छठ पर्वको तेस्रो दिनलाई मुख्य तथा विशेष दिनका रूपमा लिइन्छ । यस दिन व्रतालुहरू दिनभरि निर्जला उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्न नजिकैका नदी, पोखरी, तलाउ, इनार वा कुवाजस्ता जलाशयमा पुग्छन् ।
यस दिन बिहानैदेखि घरमा छठका लागि आवश्यक प्रसाद र पूजासामग्री तयार पारिन्छ । ठेकुवा, फलफूल, मिठाईलगायतका परिकार बाँसबाट बनेका ढक्की, दउरा र सुपलीमा सजाएर राखिन्छन् । त्यसपछि परिवारका सदस्य र आफन्तहरू मिलेर पूजासामग्रीसहित छठघाट पुग्छन् ।
छठघाटमा व्रतालुहरू पानीमा उभिएर अस्ताउँदो सूर्यको पूजा गर्छन् । सूर्यदेवलाई अघ्र्य अर्पण गर्दै ठेकुवा, फलफूल तथा अन्य प्रसाद चढाइन्छ । यस क्रममा घाटमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ । छठघाटलाई फूल, बत्ती र विभिन्न सजावटका सामग्रीले दुलहीझैँ सिँगारिएको हुन्छ ।
साँझको अघ्र्यपछि कतिपय व्रतालुहरू रातभर जलाशयमै बसेर भोलिपल्ट बिहान उदाउने सूर्यको प्रतीक्षा गर्छन् । कतिपय भने अघ्र्य अर्पण गरी घर फर्किएर रातभर भजनकीर्तन र छठका परम्परागत गीतमार्फत सूर्यदेवको आराधनामा तल्लीन हुन्छन् । रातभर जाग्राम बसेर गरिने पूजाले छठको धार्मिक उत्साह र भक्तिभावलाई थप गहिरो बनाउँछ ।
चौथो दिनः बिहानको अघ्र्य
छठ पर्वको अन्तिम दिन अर्थात् सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । तेस्रो दिन रातभर सूर्यको आराधनामा बिताएका व्रतालुहरू बिहानै छठघाटमा भेला हुन्छन् ।
पूर्व दिशाबाट सूर्यको पहिलो किरण देखिन थालेसँगै व्रतालुहरू जलाशयमा उभिएर सूर्यदेवको पूजा आरम्भ गर्छन् । अञ्जुलीमा जल लिएर उदाउँदो सूर्यलाई अघ्र्य चढाइन्छ । त्यसपछि पालैपालो ठेकुवा, फलफूल, मिठाईलगायतका प्रसाद अर्पण गर्दै छठी मैयाँसँग परिवारको सुख, शान्ति, समृद्धि, निरोगिता र सन्तानको कल्याणको कामना गरिन्छ ।
बिहानीको अघ्र्यसँगै छठ पर्वका मुख्य धार्मिक विधि सम्पन्न हुन्छन् । त्यसपछि व्रतालुहरू घर फर्किएर सूर्यदेवको प्रसाद ग्रहण गर्छन् र निर्जला उपवास तोड्दै व्रत समापन गर्छन् ।