मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १४ जनाका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै उनीहरूले शव उठाउन नमानेका हुन् ।
मृतकका आफन्तले प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार पीडित परिवारले कानुनले तोकेभन्दा बढी क्षतिपूर्ति माग गरेका छन् । प्रशासनले भने कानुनअनुसार पाउने क्षतिपूर्ति मात्रै उपलब्ध गराउन सकिने स्पष्ट पारेको छ ।
प्रशासनका अनुसार बिहीबार सर्लाहीका स्थानीय नेता सञ्जय यादवले क्षतिपूर्तिलगायतका माग राख्दै मृतक परिवारका तर्फबाट नेतृत्व गरेका थिए । दुर्घटनामा चालकको लापरबाही रहेको प्रारम्भिक आशंका गरिए पनि मृतकका परिवारलाई राजनीतिक स्वार्थका आधारमा उक्साइएको हुन सक्ने प्रशासनको आशंका छ ।
मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । दुर्घटनाका बेला चालकसहित २० जना सवार थिए । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
घाइतेहरूको हेटौँडा, भरतपुर र काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मृतक १४ जनाकै शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्त पनि अस्पताल परिसरमै बसेका छन् । बिहीबार नै शवको पोस्टमार्टम गर्ने प्रयास गरिए पनि आफन्तले सहमति नदिएपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्ति नलिए पनि पोस्टमार्टम तथा शव व्यवस्थापनको प्रक्रिया कानुनबमोजिम अघि बढाइने बताएका छन् ।