पर्साको विन्ध्यवासिनी गाउँपालिका–३, इटियाहीमा घरेलु हिंसाबाट ज्यान गुमाएकी रजिया खातुनको सम्झनामा स्थापना गरिएको रजिया स्मृति प्रतिष्ठानले नेपाल स्काउट आधारभूत विद्यालयमा खानेपानी प्रणाली जडान गरेको छ।
यस पहलबाट विद्यालयका करिब ५०० विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरू स्वच्छ खानेपानी सेवाबाट लाभान्वित हुने भएका छन्।
प्रतिष्ठानका अध्यक्ष तथा जनता समाजवादी पार्टी (जसपा) का नेता तबरेज अहमदले निजी खर्चमा उक्त खानेपानी सुविधा जडान गराएका हुन्। जडान गरिएका प्रणालीमा १ हजार लिटर क्षमताको पानी ट्याङ्की, विद्युतीय मोटर, पिउने पानीका लागि ५ वटा धारा र शौचालय प्रयोजनका लागि ७ वटा अतिरिक्त धारा समावेश छन्।
शुक्रबार आयोजित एक समारोहमा अध्यक्ष अहमदले उक्त खानेपानी प्रणालीको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई औपचारिक रूपमा हस्तान्तरण गरे।
विद्यालयका प्रधानाध्यापक प्रमोद चौरसियाका अनुसार, यस प्रणालीले विद्यार्थी र शिक्षकहरूलाई शुद्ध र सुरक्षित खानेपानीमा सहज पहुँच दिलाउनेछ।
अध्यक्ष अहमदले जानकारी दिएअनुसार, रजिया स्मृति प्रतिष्ठान स्वर्गीय रजियाको नाममा स्थापना गरिएको सामाजिक संस्था हो, जसले परिवारको आम्दानीबाट संचित रकम प्रयोग गरी विभिन्न सामाजिक सेवाका कामहरू गर्दै आएको छ।
गत वर्ष प्रतिष्ठानले वीरगञ्जका दिवंगत युवा पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको युवा पत्रकारिता पुरस्कारको लागि नगद ५० हजार रुपैयाँ सहयोग गरेको थियो।
नेता अहमदका अनुसार, नौ वर्षअघि भारतमा विवाह भएकी रजिया खातुनको ससुराली पक्षबाट दिइएको शारीरिक तथा मानसिक यातनाका कारण मृत्यु भएको थियो। रजियाको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानले घरेलु हिंसाका विरुद्ध आवाज उठाउँदै सामाजिक चेतनाका गतिविधि सञ्चालन गर्दै आएको छ।