बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। उनीहरूले केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भन्दै पूर्वतयारी र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययन गर्दा असोज ८ देखि १२ गतेसम्म देशभर वर्षाको सम्भावना देखिएको बताएका छन्। उनका अनुसार केही मोडेलले उक्त अवधिमा ४ सय मिलिमिटरभन्दा बढी तथा कतिपय अवस्थामा ७ सय ४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएका छन्।
यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने उनको भनाइ छ। पोखरेलले विभिन्न पूर्वानुमान मोडेलको अध्ययनपछि सम्भावित जोखिमबारे जानकारी गराइएको भन्दै यसको उद्देश्य सर्वसाधारणलाई डराउनु नभई पूर्वतयारीका लागि सचेत गराउनु रहेको बताएका छन्।
पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिन थालेपछि त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्न सक्छ। यसको सम्भावित प्रभाव नेपालतर्फ पर्न सक्ने भएकाले केही क्षेत्रमा ठूलो वर्षाको जोखिम देखिएको उनले बताएका छन्।
असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर हुन सक्ने
मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट नियाल्नुपर्ने बताएका छन्। उनका अनुसार हाल उपलब्ध अधिकांश मौसम पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्थालाई गम्भीर देखाएका छन्।
उपाध्यायका अनुसार असोज १० गते वर्षाको जोखिम बढी हुन सक्ने संकेत देखिएको छ। यद्यपि अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनले बताएका छन्।
उनले सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगित गर्नु उपयुक्त हुन सक्ने सुझाव दिएका छन्। तर वर्षाको वास्तविक तीव्रता र प्रभाव पर्ने क्षेत्र अहिले नै स्पष्ट भइनसकेको उनको भनाइ छ।
मौसम विभागले प्रणालीको निगरानी गरिरहेको
नेपालको जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता प्रणाली कहिलेकाहीँ न्यूनचापीय क्षेत्रकै अवस्थामा कमजोर हुने वा आफ्नो दिशा परिवर्तन गर्ने गर्छन्। त्यसैले अहिले नै नेपालमा पर्ने प्रभावबारे निश्चित निष्कर्ष निकाल्न नसकिने उनले बताएका छन्।
उनका अनुसार आगामी दिनमा प्रणालीको विकास, दिशा र शक्तिमा हुने परिवर्तनसँगै नेपालमा यसको सम्भावित प्रभावबारे थप स्पष्ट हुनेछ। विभागले आवश्यक जानकारी औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।
मौसमविद्हरूले सम्भावित वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने बताएका छन्। विशेषगरी पाकिसकेको धानबालीमा क्षति हुन सक्ने भएकाले किसानलाई समेत सतर्क रहन आग्रह गरिएको छ।
चक्रवात बने ‘अर्नब’ नाम राखिने
भारतीय मौसम विभागका अनुसार उत्तर थाइल्यान्ड र म्यानमार आसपास विकसित प्रणालीको प्रभावले आगामी ४८ घण्टाभित्र उत्तर अण्डमान सागरमा न्यूनचापीय क्षेत्र बन्न सक्ने सम्भावना छ। त्यसपछि प्रणाली बंगालको खाडीको मध्य भागतर्फ अघि बढ्दै सेप्टेम्बर २२ सम्म डिप्रेसन वा डिप डिप्रेसनमा विकसित हुन सक्ने अनुमान गरिएको छ।
बंगालको खाडीमा विकसित भइरहेको प्रणाली चक्रवातमा परिणत भएमा यो सन् २०२६ को उत्तर हिन्द महासागर क्षेत्रको पहिलो उष्णकटिबन्धीय चक्रवात हुनेछ। चक्रवात बनेमा विश्व मौसम संगठनको उत्तर हिन्द महासागर क्षेत्रका लागि तय गरिएको नाम सूचीअनुसार यसको नाम ‘अर्नब’ राखिनेछ। उक्त नाम बंगलादेशले प्रस्ताव गरेको हो।