अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणको २५औँ वार्षिकी शुक्रबार मनाइँदैछ। उक्त आक्रमणमा अपहरण गरिएका विमानहरू न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियाको एक क्षेत्रमा ठोक्किँदा झन्डै ३ हजार मानिसको मृत्यु भएको थियो।
९/११ को आक्रमणले अमेरिकी समाज, राजनीति, सुरक्षा नीति र विदेश नीतिमा गहिरो प्रभाव पारेको थियो। आक्रमणपछि अमेरिकाले ‘आतंकवादविरुद्धको युद्ध’ सुरु गर्दै अफगानिस्तान र इराकमा सैन्य अभियान सञ्चालन गरेको थियो।
२५ वर्षपछि पनि प्रत्यक्ष प्रभावित परिवार, उद्धारकर्मी र अग्निनियन्त्रकहरूका लागि यो दिन पीडा र स्मरणको दिन बनेको छ। आक्रमणमा ज्यान गुमाएका परिवारका सदस्यहरूले शुक्रबार न्यूयोर्क, वासिङ्टन र पेन्सिलभेनियामा आयोजित स्मृति कार्यक्रममा सहभागी हुँदै मृतकहरूको नाम वाचन गर्नेछन्।
न्यूयोर्कमा उपराष्ट्रपति जेडी भान्स, पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसहित जीवित चार पूर्वराष्ट्रपति र न्यूयोर्कका मेयर जोहरान ममदानी पीडित परिवारसँगै स्मृति कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रममा वर्ल्ड ट्रेड सेन्टरका दुई टावरमा विमान ठोक्किएको र टावरहरू ढलेको समय सम्झँदै मौनधारण गरिनेछ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनमा ९/११ को स्मरण गर्ने कार्यक्रम छ। पेन्सिलभेनियाको श्यान्क्सभिलमा पनि चौथो अपहरण गरिएको विमान दुर्घटनाग्रस्त भएको स्थानमा स्मृति कार्यक्रम आयोजना हुनेछ।
आक्रमणको असर पुस्तौँसम्म
९/११ को प्रभाव त्यस दिन जन्मिनसमेत नपाएका अमेरिकी पुस्तासम्म पुगेको छ। आक्रमणपछि बनेको सुरक्षा संरचना, लामो सैन्य अभियान र घरेलु राजनीतिक बहसले अमेरिकी समाजलाई दशकौँसम्म प्रभावित गरेको छ।
आक्रमणपछि मुस्लिम अमेरिकी तथा मुस्लिमबहुल देशबाट आएका आप्रवासीमाथि पूर्वाग्रह र घृणाका घटनासमेत बढेका थिए। ९/११ को प्रत्यक्ष असरबाट ज्यान गुमाउनेको संख्या पनि आक्रमण भएको दिनमै सीमित रहेन।
वर्ल्ड ट्रेड सेन्टर क्षेत्रमा लामो समय उद्धार तथा सरसफाइमा खटिएका अग्निनियन्त्रक, उद्धारकर्मी र अन्य व्यक्तिहरू विषाक्त धुलो तथा रसायनको सम्पर्कमा आएका थिए। त्यसपछि ९/११ सम्बन्धी रोगका कारण सयौँ उद्धारकर्मीको मृत्यु भइसकेको छ।
न्यूयोर्क अग्नि विभागका ३४३ सदस्यले ९/११ कै दिन ज्यान गुमाएका थिए भने त्यसयता ६०० भन्दा बढी अग्निनियन्त्रकको ९/११ सम्बन्धी रोगका कारण मृत्यु भएको विभागको तथ्यांक छ। सन् २०२६ मा मात्रै २६ जनाको मृत्यु भइसकेको जनाइएको छ।
९/११ को २५ वर्षपछि पनि अमेरिकाले त्यो दिन गुमाएका मानिसहरूको सम्झना गर्दै आक्रमणको दीर्घकालीन सामाजिक, राजनीतिक र मानवीय प्रभावसँग सामना गरिरहेको छ।