‘समाज सुदृढीकरण हाम्रो अभियान’ भन्ने मूल भावनाका साथ वीरगञ्जबाट प्रकाशित मध्य नेपाल सन्देश एघारौं वर्षमा प्रवेश गरेको छ । कुनै सञ्चारमाध्यमका लागि वर्ष थपिनु केवल समयको निरन्तरता होइन, आफूले निर्वाह गर्दै आएको भूमिकाको पुनरावलोकन गर्ने अवसर पनि हो । एघारौं वर्षको यो प्रवेश हाम्रा लागि उत्सवभन्दा बढी आत्मसमीक्षा, जिम्मेवारीबोध र आगामी यात्राप्रतिको प्रतिबद्धताको क्षण हो ।
पत्रकारिताको वास्तविक शक्ति उसको पहुँचमा होइन, विश्वसनीयतामा हुन्छ । सूचना छिटो प्रवाह गर्न सक्नु प्रविधिको उपलब्धि हो, तर सही, सन्तुलित र तथ्यमा आधारित सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म हो । आज सूचना प्राप्त गर्न पहिलेभन्दा धेरै सहज भएको छ । मोबाइलको एउटा स्क्रिनमा केही सेकेन्डमै असंख्य सूचना आइपुग्छन् । तर, सूचनाको यो बाढीबीच सत्य पहिचान गर्नु झन् कठिन बन्दै गएको छ ।
सामाजिक सञ्जालको विस्तारसँगै अपुष्ट सूचना, आधा सत्य, भ्रम र नियोजित प्रचार तीव्र गतिमा फैलिरहेका छन् । ‘पहिलो समाचार’ बन्ने होडमा कतिपय अवस्थामा ‘सही समाचार’ पछि पर्दै गएको देखिन्छ । समाचार र प्रचार, तथ्य र दाबी तथा विचार र समाचारबीचको सीमा धुमिल हुँदा पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठ्नु स्वाभाविक हो । यस्तो अवस्थामा पत्रकारिताले आफ्नो आधारभूत मूल्यप्रति अझ दृढ भएर उभिनुपर्ने आवश्यकता छ ।
हामी मान्छौं–पत्रकारिता कुनै व्यक्ति, दल, सत्ता वा संस्थाको पक्षधर बन्ने माध्यम होइन । पत्रकारिताको पक्षधरता सत्य, लोकतन्त्र, नागरिक अधिकार र सार्वजनिक हितप्रति हुनुपर्छ । सत्ता जुनसुकै दल वा व्यक्तिको हातमा किन नहोस्, त्यसलाई प्रश्न गर्ने अधिकार पत्रकारिताले गुमाउनु हुँदैन । आलोचना तथ्यमा आधारित हुनुपर्छ र आरोपलाई समाचार बनाउनुअघि त्यसको सत्यापन तथा सम्बन्धित पक्षको धारणा लिनुपर्छ । पत्रकारिताको विश्वसनीयता एउटा गलत वा अपुष्ट समाचारले पनि गम्भीर रूपमा प्रभावित हुन सक्छ ।
मधेशको सन्दर्भमा पत्रकारिताको यो जिम्मेवारी अझ महत्वपूर्ण छ । सामाजिक, सांस्कृतिक, भाषिक र राजनीतिक विविधताले भरिएको मधेशमा नागरिकका सवाल पनि विविध छन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग, व्यापार, पूर्वाधार, सीमा, नागरिक सुरक्षा र सार्वजनिक सेवाका प्रश्नसँगै सामाजिक विभेद, गरिबी, बेरोजगारी, भ्रष्टाचार र विकासको असमानताले यहाँको जनजीवन प्रभावित पारिरहेका छन् ।
यी विषयलाई केवल घटनाका रूपमा प्रस्तुत गर्नु पत्रकारिताको पर्याप्त दायित्व होइन । घटनाको पछाडि रहेका कारण खोज्नु, निर्णयबाट प्रभावित नागरिकको आवाज सुन्नु, सार्वजनिक स्रोतको उपयोगमाथि प्रश्न गर्नु र राज्यका निकायलाई जवाफदेही बनाउनु पत्रकारिताको महत्वपूर्ण जिम्मेवारी हो । पत्रकारिताले नागरिकलाई केवल के भयो भनेर बताउने होइन, किन भयो, कसका कारण भयो र यसको प्रभाव कसलाई प¥यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ ।
मधेशको पत्रकारिताले विशेषगरी सीमान्तकृत समुदायका आवाजलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । महिला, दलित, श्रमिक, किसान, विपन्न, युवा तथा अवसरबाट पछाडि पारिएका समुदायका सवाललाई नियमित सार्वजनिक बहसमा ल्याउनु आवश्यक छ । जसको आवाज सत्ता र समाजका प्रभावशाली संरचनासम्म सहजै पुग्दैन, पत्रकारिताको ध्यान त्यतातिर अझ बढी केन्द्रित हुनुपर्छ ।
महिलाको सवाललाई पनि केवल महिला दिवस वा विशेष अवसरमा प्रकाशित हुने सामग्रीमा सीमित गर्नु हुँदैन । निर्णय प्रक्रियामा महिलाको सहभागिता, राजनीतिक प्रतिनिधित्व, आर्थिक स्वावलम्बन, नेतृत्व क्षमता र सार्वजनिक जीवनमा उनीहरूको प्रभावबारे निरन्तर बहस आवश्यक छ । प्रतिनिधित्वको संख्या बढ्नु मात्र पर्याप्त छैन; निर्णय गर्ने तहमा महिलाको अर्थपूर्ण उपस्थिति कति छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
डिजिटल युगले पत्रकारितालाई नयाँ अवसर दिएको छ, तर त्यससँगै नयाँ चुनौती पनि थपेको छ । क्लिक, भ्यु र सेयरको संख्या समाचारको गुणस्तरको मापदण्ड बन्न सक्दैन । सनसनी क्षणिक हुन सक्छ, तर विश्वसनीयता दीर्घकालीन हुन्छ । त्यसैले पत्रकारिताले लोकप्रियताको पछि लाग्नुभन्दा पाठकको विश्वास जोगाउने अभ्यासलाई प्राथमिकता दिनुपर्छ ।
पत्रकार आचारसंहिता कुनै औपचारिक दस्तावेजमात्र होइन, पत्रकारिताको दैनिक व्यवहारको आधार हो । तथ्य परीक्षण, स्रोतको विश्वसनीयता, सन्तुलित प्रस्तुति, सम्बन्धित पक्षको धारणा, व्यक्तिगत गोपनीयताको सम्मान र गल्ती भए सच्याउने नैतिक साहस पत्रकारिताका अनिवार्य आधार हुन् । पत्रकारिता आलोचनाबाट भाग्ने क्षेत्र होइन, बरू आलोचनालाई आत्मसुधारको अवसरका रूपमा ग्रहण गर्ने पेशा हो ।
मध्य नेपाल सन्देश आफ्नो मूल प्रतिबद्धतालाई अझ स्पष्ट रूपमा दोहो¥याउन चाहन्छ– समाचारमा सत्य, प्रस्तुतिमा निष्पक्षता र दृष्टिकोणमा सार्वजनिक हित । कुनै दबाब, प्रभाव वा स्वार्थभन्दा माथि पत्रकारिताको धर्मलाई राख्ने प्रयास निरन्तर रहनेछ ।
समय बदलिएको छ, माध्यम बदलिएका छन् र चुनौतीहरू पनि बदलिएका छन् । तर, पत्रकारिताको मूल धर्म बदलिएको छैन । सत्यको खोजी गर्नु, सत्तालाई प्रश्न गर्नु, नागरिक अधिकारको पक्षमा उभिनु र समाजका कमजोर आवाजलाई स्थान दिनु पत्रकारिताको आधारभूत जिम्मेवारी हो । एघारौं वर्षको यात्रामा हाम्रो संकल्प सरल छ–समय जति कठिन भए पनि सत्यको पक्षमा उभिनेछौं, तथ्यको खोजी गर्नेछौं र सार्वजनिक सरोकारका प्रश्नमा हाम्रो कलम निरन्तर चलिरहनेछ । यही प्रतिबद्धताले पत्रकारितालाई अर्थ दिन्छ र यही विश्वासले सञ्चारमाध्यमलाई समाजसँग जोडिराख्छ ।