नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद्मा पार्टीले खेल्दै आएको भूमिका र आगामी दिनमा अपनाउनुपर्ने संसदीय भूमिकाबारे छलफल गर्ने भएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार आगामी मंगलबार बस्ने केन्द्रीय संयोजन समितिको बैठकमा संसद्भित्र पार्टीको भूमिकासहित राष्ट्रिय राजनीति, सरकारको कामकारबाही तथा प्राकृतिक विपद्का विषयमा छलफल हुनेछ।
उनले संसद्भित्र अहिलेसम्म पार्टीले खेल्दै आएको भूमिका र आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे बैठकमा समीक्षा हुने बताए। बैठकपछि संसद्मा पार्टीको भूमिकासम्बन्धी केही निर्णय हुन सक्ने नेताहरूले बताएका छन्।
केन्द्रीय संयोजन समितिको बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ। बैठकमा आन्तरिक संगठनात्मक विषय, राष्ट्रिय राजनीति, सरकारको कामकारबाही, रसुवालगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्मा सरकारको भूमिका र पार्टीको उपस्थितिबारे पनि छलफल हुने प्रवक्ता ज्वालाले जानकारी दिए।
साथै समसामयिक विषय तथा प्राकृतिक विपद्पछिको अवस्थाका सम्बन्धमा सरकारलाई आवश्यक सुझाव दिने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।
हाल प्रतिनिधिसभामा नेकपाका १७ सांसद छन्। राष्ट्रिय सभामा पनि नेकपाका १७ सांसद रहेका छन्। राष्ट्रिय सभाको अध्यक्षमा नेकपाबाट निर्वाचित नारायणप्रसाद दाहाल छन्।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२ सांसद रहेकाले सरकार तथा सत्तारूढ दलले प्रतिनिधिसभाबाट विधेयक पारित गर्न सहज भए पनि राष्ट्रिय सभामा भने थप सहमति आवश्यक पर्ने अवस्था रहेको नेताहरूले बताउँदै आएका छन्।
यही संसदीय अंकगणितको पृष्ठभूमिमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीले हालसम्म खेल्दै आएको भूमिका समीक्षा गर्दै आगामी दिनमा संसद्मा अपनाउने रणनीति तय गर्न लागिएको नेकपाका नेताहरूले बताएका छन्।