कुशे औंसी भर्खरै सम्पन्न भएको छ । नेपाली समाजमा यो दिनलाई बुवाको मुख हेर्ने दिनका रूपमा मनाउने प्रचलन छ । टाढा रहेका छोराछोरी घर फर्किन्छन्, बुवाको मुख हेर्छन्, मिठाई, फलफूल वा नयाँ कपडा दिन्छन्, आशीर्वाद लिन्छन् । धेरैले बुवासँगको तस्वीर सामाजिक सञ्जालमा राखेर श्रद्धा व्यक्त गर्छन् । यो परम्परा र भावनाको अभिव्यक्ति हो । तर, आज प्रश्न उठाउनुपर्ने ठाउँमा हामी पुगेका छौं–संस्कार व्यवहारमा देखिन्छ कि सामाजिक सञ्जालमा मात्र ?
बुवाको मुख हेर्ने दिन बुवाको अनुहारमात्र हेर्ने कि आफ्नै संस्कार पनि हेर्ने ? सामाजिक सञ्जालमा बुवासँग हाँसेको तस्वीर राख्दैमा श्रद्धा पूरा हुन्छ कि त्यो श्रद्धा बाँकी दिनको व्यवहारमा पनि देखिनुपर्छ ? संस्कार एउटा तस्वीरमा होइन, दैनिक व्यवहारमा देखिन्छ ।
नेपालको २०७८ सालको राष्ट्रिय जनगणनाले हाम्रो पारिवारिक संरचनामा भइरहेको परिवर्तनको महत्वपूर्ण चित्र देखाएको छ । पुस्ताहरू एउटै छानामुनि बस्ने, दैनिक जीवनमा एकअर्काका अनुभव सुन्ने र व्यवहारबाट संस्कार सिक्ने पुरानो पारिवारिक संरचना भने बदलिँदै गएको छ । नेपाल विस्तारै वृद्ध हुँदै गएको समाज पनि हो । २०७८ को जनगणनाअनुसार ६० वर्ष वा सोभन्दा माथिको जनसंख्या १०.२ प्रतिशत, अर्थात् करिब २९.७ लाख पुगेको छ । २०६८ मा यो हिस्सा ८.१ प्रतिशत थियो । एक दशकमा वृद्ध जनसंख्या ३८.२ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाउँछ । त्यसैले अब बुवाआमाको सम्मान केवल संस्कृतिको विषय रहेन । यो बदलिँदो सामाजिक संरचना, पारिवारिक सम्बन्ध र भावी पुस्ताप्रतिको जिम्मेवारीसँग जोडिएको प्रश्न पनि हो ।
हामी कहाँ चुक्दैछौं ?
आजको पुस्ता पुरानो पुस्ताभन्दा धेरै अर्थमा फरक छ । उनीहरू बढी शिक्षित छन्, प्रविधिसँग जोडिएका छन्, आफ्नो अधिकारबारे सचेत छन् र आफ्नो जीवनका निर्णय आफैँ गर्न चाहन्छन् । यो परिवर्तन स्वाभाविक र सकारात्मक पनि हो । समस्या त्यहाँ सुरु हुन्छ, जहाँ स्वतन्त्रताको अर्थ जिम्मेवारीबाट मुक्ति र अधिकारको अर्थ अरूलाई अपमान गर्ने छुट ठानिन्छ ।
बुवाले कुनै कुरा सम्झाउँदा ‘मलाई सबै थाहा छ’ भन्ने, आमाले केही समय मोबाइल छोड्न आग्रह गर्दा ‘तपाईंलाई के थाहा छ ? मोबाइल हाम्रो आवश्यकता हो’ भन्ने वा हजुरबा–हजुरआमाले आफ्नो अनुभव सुनाउँदा ‘भो, यी पुराना कुरा नगरौं’ भन्ने प्रवृत्ति सामान्य बन्दै गयो भने समस्या केवल बालबालिकाको व्यवहारमा सीमित रहँदैन । यसले हामीले निर्माण गरिरहेको पारिवारिक संस्कारमाथि नै प्रश्न उठाउँछ ।
विशेषगरी केही सहरी परिवारमा देखिने अर्को अवस्था अझ गम्भीर छ । बुवाआमा छोराछोरीको शिक्षा, स्वास्थ्य, सुविधा र भविष्यका लागि जीवनभर खटिन्छन् । आफ्नो भोक, तिर्खा र आवश्यकता बिर्सेर सन्तानको भविष्य निर्माणमा समय र श्रम खर्चिन्छन् । तर, उमेर ढल्किँदै गएपछि उनीहरूकै कुरा सुन्न छोराछोरीसँग समय हुँदैन । उनीहरूका अनुभव र भावनालाई बुझ्ने धैर्य पनि हराउँदै जान्छ ।
हाम्रा बुवालाई नयाँ मोबाइल चलाउन नआउन सक्छ । आमालाई सामाजिक सञ्जाल प्रयोग गर्न नआउन सक्छ । उनीहरू प्रविधिमा कमजोर हुन सक्छन् । तर, प्रविधिको ज्ञान कम हुनु सम्मानको अधिकार कम हुनु होइन । नयाँ पुस्ताले प्रविधि जान्नु उपलब्धि हो भने पुरानो पुस्तासँग जीवनको अनुभव हुनु अर्को ठूलो सम्पत्ति हो ।
प्रश्न गरौं, अपमान होइन
बुवाआमालाई सम्मान गर्नु भनेको उनीहरूले भनेका प्रत्येक कुरा अन्धाधुन्ध स्वीकार गर्नु होइन । छोराछोरीलाई आफ्ना बुवाआमासँग असहमति जनाउने अधिकार छ । गलत परम्पराको विरोध गर्ने अधिकार छ । आफ्नो जीवनबारे निर्णय गर्ने अधिकार छ । अभिभावकले गरेको गल्ती औंल्याउने अधिकार पनि छ ।
तर असहमति र अपमान एउटै कुरा होइन । ‘म तपाईंको कुरासँग सहमत छैन’ भन्न सक्नु संस्कारहीनता होइन । तर ‘तपाईंलाई केही थाहा छैन’ वा ‘तपाईं चुप लाग्नस्’ भन्दै अपमान गर्नु स्वतन्त्रताको परिचय होइन ।
हामीले नयाँ पुस्तालाई प्रश्न गर्न सिकाउनुपर्छ । तर, प्रश्नसँगै संवादको भाषा, धैर्य र मर्यादा पनि सिकाउनुपर्छ । विचार फरक हुन सक्छ, पुस्ता फरक हुन सक्छ, जीवनशैली फरक हुन सक्छ । तर, फरक विचार राख्ने क्रममा अर्को व्यक्तिको आत्मसम्मानमा चोट पु¥याउनु आवश्यक छैन ।
आज एउटा तस्वीर खिचेर बुवालाई अँगालो हाल्न सकिन्छ । त्यसलाई सामाजिक सञ्जालमा राखेर ‘बुवा, तपाईं मेरो संसार’ भनेर लेख्न सकिन्छ । तर, त्यही बुवा घरमा बोल्दा कानमा इयरफोन लगाएर नसुन्ने हो भने त्यो श्रद्धाको अर्थ के रह्यो ?
बुवाको जन्मदिनमा हजारौँ रुपैयाँ खर्च गरेर केक काट्न सकिन्छ । तर, उहाँले दिनभरि सुनाउन खोजेको कुरा पाँच मिनेट धैर्यपूर्वक सुन्न सकिँदैन भने हामीले उत्सव मनायौं, सम्बन्ध भने मनाउन सकेनौं । बुवालाई महँगो उपहार दिनु राम्रो हो । तर, उहाँलाई आवश्यक परेको बेला साथ दिनु अझ ठूलो उपहार हो । खुट्टा छोएर आशीर्वाद लिनु राम्रो हो । तर, उहाँको आत्मसम्मानमा चोट नपु¥याउनु त्योभन्दा ठूलो सम्मान हो ।
साँचो श्रद्धा सामाजिक सञ्जालमा देखिने तस्वीरभन्दा धेरै ठूलो कुरा हो । बुवाआमाको स्वास्थ्यबारे सोध्नु, उनीहरूको कुरा ध्यान दिएर सुन्नु, आवश्यक पर्दा साथ दिनु, एक्लोपन महसुस हुन नदिनु र निर्णयमा उनीहरूको भावनालाई पनि स्थान दिनु नै वास्तविक सम्मान हो ।
संस्कार दुईतर्फी हुन्छ
यो सन्देश केवल छोराछोरीलाई दोष दिने उद्देश्यले होइन । संस्कार दुईतर्फी हुन्छ । हामीले छोराछोरीलाई सम्मान गर्न सिकाउँदै गर्दा उनीहरूको विचार र स्वतन्त्रताको पनि सम्मान गर्नुपर्छ ।
‘हामीले दुःख गरेर हुर्कायौं, त्यसैले तिमीले हाम्रो कुरा मान्नैपर्छ’ भन्ने सोचले पनि स्वस्थ पारिवारिक सम्बन्ध निर्माण गर्दैन । अभिभावकको त्याग महान हुन सक्छ । तर, त्यागको बदलामा सन्तानको सम्पूर्ण स्वतन्त्रता माग्न मिल्दैन । छोराछोरीलाई आफ्नो बाटो रोज्ने अधिकार छ । त्यसैगरी बुवाआमालाई पनि आफ्नो बुढ्यौली अपमान, उपेक्षा र एक्लोपनमा बिताउन नपर्ने अधिकार छ । यही सन्तुलन नै आधुनिक पारिवारिक संस्कार हो । सम्मान भनेको एकतर्फी आज्ञापालन होइन, एकअर्काको अस्तित्व, विचार र आत्मसम्मानलाई स्वीकार गर्नु हो ।
आज हामी छोराछोरी हौं । भोलि हामी पनि बुवा वा आमा हुनेछौं । आज हामीले आफ्ना अभिभावकसँग गर्ने व्यवहार हाम्रा छोराछोरीले पनि सिकिरहेका छन् । हामी बुवासँग कस्तो भाषा प्रयोग गर्छौं, आमालाई कसरी सम्बोधन गर्छौं, हजुरबा–हजुरआमाको कुरा कसरी सुन्छौं–यी सबै उनीहरूका लागि कुनै पाठ्यपुस्तकभन्दा प्रभावकारी पाठ हुन् ।
त्यसैले संस्कार भाषणबाट होइन, व्यवहारबाट पुस्तान्तरण हुन्छ । हामीले सम्मान सिकाउने हो भने पहिले आफैं सम्मान गर्नुपर्छ । हामीले संवाद सिकाउने हो भने पहिले आफैं सुन्न सक्नुपर्छ ।
आधुनिकता र संस्कार सँगसँगै
नयाँ पुस्तालाई आधुनिक बनाऔं । उनीहरूलाई प्रविधि सिकाऔं । आफ्नो अधिकारका लागि बोल्न सिकाआं । प्रश्न गर्न सिकाऔं । आफ्ना निर्णय आफैं गर्न सक्ने बनाऔं । तर, त्यससँगै एउटा महत्वपूर्ण कुरा पनि सिकाऔं–आधुनिक हुनु भनेको अमर्यादित हुनु होइन । स्वतन्त्र हुनु भनेको गैरजिम्मेवार हुनु होइन । आफ्नो कुरा राख्नु भनेको अरूको आत्मसम्मानमा चोट पु¥याउनु होइन ।
त्यसैगरी अभिभावकले पनि समयअनुसार आफूलाई बदल्न सिक्नुपर्छ । छोराछोरीका प्रश्न सुन्नुपर्छ, उनीहरूको विचारलाई सम्मान गर्नुपर्छ र आफ्नो अनुभवलाई आदेशका रूपमा होइन, मार्गदर्शनका रूपमा प्रस्तुत गर्नुपर्छ । सन्तानको संस्कार कुनै विशेष दिनमा मात्र देखिँदैन । त्यो हरेक दिन देखिन्छ–बुवाआमालाई बोलाउने भाषामा, उनीहरूको कुरा सुन्ने धैर्यमा, आवश्यक पर्दा दिने साथमा र उनीहरूको आत्मसम्मानप्रतिको व्यवहारमा ।
कुशे औंसीमा बुवाको तस्वीर सामाजिक सञ्जालमा राख्नु नराम्रो होइन । तर, त्यो तस्वीरसँगै हाम्रो व्यवहार पनि सम्मानपूर्ण छ कि छैन भनेर आफैंलाई प्रश्न गर्नु अझ आवश्यक छ । सामाजिक सञ्जालमा देखाइएको श्रद्धा क्षणिक हुन सक्छ, तर वास्तविक सम्मान हरेक दिनको व्यवहारमा देखिन्छ ।