वीरगन्जको घण्टाघरस्थित वीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गर्दै ‘रेल्वे पार्क’का रूपमा विकास गर्ने योजना पुनः अघि बढाइएको छ। योजनाअन्तर्गत लामो समयदेखि झाडी र फोहोरले अस्तव्यस्त बनेको रेल्वे क्षेत्रमा शनिबारदेखि पुनः सरसफाइ तथा व्यवस्थापनको काम सुरु गरिएको हो।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा रेल्वे क्षेत्रको सरसफाइ गरिएको महानगरले जनाएको छ। करिब तीन महिनादेखि झाडी र फोहोरले ढाकिएको क्षेत्र सफा गरी आगामी दिनमा रेल्वे पार्क निर्माणको काम अघि बढाउने तयारी गरिएको छ।
वीपी उद्यानलाई वीरगन्जको प्रमुख हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत पार्कभित्रका विभिन्न क्षेत्रलाई व्यवस्थित गर्ने काम हुँदै आएको छ। सोही क्रममा पुरानो रेल्वे क्षेत्रलाई वीरगन्जको ऐतिहासिक पहिचान झल्किने गरी रेल्वे पार्कका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको हो।
रेल्वे पार्क निर्माणको प्रारम्भिक तयारीस्वरूप यसअघि पनि झाडी हटाउने, सरसफाइ गर्ने र खाली स्थानलाई व्यवस्थित गर्ने काम सुरु गरिएको थियो। तर गत जेठ २५ गते महानगर प्रमुख सिंह निलम्बनमा परेपछि उक्त काम रोकिएको थियो। काम रोकिएपछि क्षेत्र पुनः झाडी र फोहोरले ढाकिँदै गएको थियो।
सिंहले सोमबार विशेष अदालतबाट सफाइ पाएपछि महानगरमा रोकिएका विभिन्न कामलाई पुनः गति दिन थालेको जनाइएको छ। त्यसैक्रममा वीरगन्जको सरसफाइ अभियानलाई तीव्रता दिनुका साथै वीपी उद्यानभित्र रोकिएको रेल्वे क्षेत्रको व्यवस्थापनको काम पनि अघि बढाइएको हो।
अब रेल्वे क्षेत्रलाई थप व्यवस्थित गर्दै हरियाली, मनोरञ्जन र ऐतिहासिक महत्वलाई समेटेर रेल्वे पार्क निर्माण गर्ने योजना अघि बढाइने महानगरले जनाएको छ। घण्टाघर नजिकै रहेको वीपी उद्यानलाई आकर्षक र व्यवस्थित सार्वजनिक पार्कका रूपमा विकास गरी सर्वसाधारणका लागि मनोरञ्जन तथा विश्रामको उपयुक्त स्थल बनाउने महानगरको लक्ष्य छ।
सरसफाइ कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानलगायतको सहभागिता रहेको थियो।