वीरगन्जमा प्रहरी हिरासतमा रहेका थुनुवा तथा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कर्मचारीले अब प्रहरी परिसरमै नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवा पाउने भएका छन्।
थुनुवा तथा प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण र आवश्यक उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पताल र जिल्ला प्रहरी कार्यालय पर्साबीच एक वर्षे सम्झौता भएको छ।
सम्झौताअनुसार हरेक शुक्रबार अस्पतालका चिकित्सक जिल्ला प्रहरी कार्यालय परिसरमै पुगेर हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गर्नेछन्। परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएमा अस्पतालमार्फत उपचार सेवा उपलब्ध गराइनेछ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष अबुलहैस अन्सारी र पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
प्रहरीका अनुसार हिरासतमा रहेका व्यक्तिलाई समयमै स्वास्थ्य परीक्षण तथा उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सम्झौता गरिएको हो। हिरासतमा रहेका थुनुवाको स्वास्थ्य अवस्था नियमित परीक्षण गर्नुपर्ने भएकाले प्रहरी परिसरमै चिकित्सकको पहुँच पुर्याउने व्यवस्था गरिएको जनाइएको छ।
एसपी भट्टराईले संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण तथा प्रवर्द्धनका लागि अस्पतालसँग सहकार्य गरिएको बताए। उनका अनुसार थुनुवासहित प्रहरी कर्मचारीको स्वास्थ्य अवस्थालाई समेत प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिनेछ।
सम्झौताअन्तर्गत न्यूरो, कार्डिएक तथा स्पाइनल इन्जुरीसम्बन्धी स्वास्थ्य समस्याको उपचारसमेत गरिनेछ। यस्तै, ‘बिमा नागरिक कार्यक्रम’ अन्तर्गत एक लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध गराइने अस्पताल प्रशासन प्रमुख भूमिका अधिकारीले बताइन्।
यस व्यवस्थाबाट सामान्य स्वास्थ्य परीक्षणदेखि आवश्यकताअनुसार विशेषज्ञ उपचारसम्मको पहुँच सहज हुने अपेक्षा गरिएको छ। निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी सम्झौताको अवधि एक वर्ष रहनेछ।
सम्झौता कार्यक्रममा डीएसपी चक्रबहादुर मल्ल, राजु कार्की, अस्पताल प्रशासनका कर्मचारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरूको सहभागिता थियो।