नेकपा एमालेले तत्काल पार्टी नेतृत्व पुनर्गठन तथा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विषय अघि नबढाउने भएको छ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेतृत्व परिवर्तनको विषयलाई तत्काल प्राथमिकतामा नराखी पार्टीलाई थप एकताबद्ध बनाउँदै वर्तमान सरकारविरुद्ध राजनीतिक गतिविधि अघि बढाउने निष्कर्ष निकालेको हो ।
आइतबार बसेको कार्यदलको बैठकले कार्यदलमा आएका विभिन्न सुझावलाई समेटेर साझा प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्ने निर्णय गरेको छ । प्रदेश तथा तल्लो तहबाट आएका सुझावलाई भने प्रतिवेदनको अनुसूचीमा राखिने भएको छ ।
कार्यदलमा अध्यक्ष ओलीको नेतृत्व परिवर्तन गर्ने विषयमा फरक धारणा प्रस्तुत भएका थिए । महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा नेतृत्व पुनर्गठनको विषय उठाइएको थियो भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको धारले तत्काल नेतृत्व परिवर्तन आवश्यक नरहेको मत राखेको थियो । पछिल्लो एकीकृत दस्तावेजमा भने तत्काल अध्यक्ष हटाउने विषयलाई अघि नबढाउने सहमति भएको हो ।
कार्यदल सदस्य लीलानाथ श्रेष्ठले सबै विषय समेटेर राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गरिने बताए । उनका अनुसार पार्टीलाई थप एकताबद्ध गर्दै आगामी राजनीतिक गतिविधिमा केन्द्रित हुने निर्णय भएको छ ।
कार्यदल बैठकपछि एमाले सचिव महेश बस्नेतले पार्टीलाई प्रतिपक्षी र जुझारु ढङ्गले अघि बढाउने तथा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउन सिफारिस गर्ने निर्णय भएको बताए । एमालेले वर्तमान सरकारका कदमको विरोध गर्दै सडक आन्दोलन अघि बढाउने रणनीति बनाएको उनको भनाइ छ ।
यसअघि निर्वाचनमा पराजयपछि एमालेभित्र पार्टी पुनर्गठन तथा नेतृत्व परिवर्तनको विषयमा बहस तीव्र भएको थियो । कार्यदलमा सहमति जुटाउन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई प्रतिवेदन एकीकृत गर्ने जिम्मेवारी दिइएको थियो ।
पार्टीभित्र तत्काल नेतृत्व परिवर्तनको विषय थाती राखिए पनि नीति, कार्यशैली, संगठन र आचरणमा सुधार तथा पार्टी पुनर्गठनका विषय भने छलफलमा रहने भएका छन् । कार्यदलको प्रतिवेदनमाथि अब पार्टी सचिवालय र केन्द्रीय कमिटीमा छलफल हुने कार्यतालिका छ ।