राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित ९ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले पार्टीबाट राजीनामा दिएका छन्। उनीहरूले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुँदै अब ‘हुंकार मधेश अभियान’सँग जोडिएर अघि बढ्ने घोषणा गरेका हुन्।
असोज २ गते जारी विज्ञप्तिमा उनीहरूले पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको उल्लेख गरेका छन्। विभिन्न संघर्ष तथा आन्दोलन भए पनि जनताका न्यूनतम आवश्यकता पूरा हुन नसकेको भन्दै नयाँ वैचारिकी र अर्थ–राजनीतिक आधारमा अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ।
उनीहरूले सामाजिक–सांस्कृतिक चेतना विकासका लागि अभियानलाई निरन्तरता दिने, राजनीतिक चेतनाका लागि संघर्षमा जोड दिने तथा आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने बताएका छन्। औपनिवेशिकताको अन्त्य नभएसम्म लोकतन्त्रको प्रत्याभूति सम्भव नहुने र लोकतन्त्र तथा शान्तिबिना समृद्धि हासिल गर्न नसकिने उनीहरूको दाबी छ।
विज्ञप्तिमा अहिलेसम्म प्राप्त उपलब्धिका लागि योगदान गर्ने सबैलाई धन्यवाद दिँदै ‘विचारसहितको विकल्प र विकल्पसहितको विद्रोह’का लागि अबको यात्रा ‘हुंकार मधेश अभियान’सँग हुने उल्लेख गरिएको छ। ‘हुंकार मधेश’ अभियान यसअघि पनि मधेश केन्द्रित विभिन्न राजनीतिक पृष्ठभूमिका युवाहरूको सहभागितामा सार्वजनिक भएको थियो।
राजीनामा दिनेमा महासचिव केशव कुमार झा तथा केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिपिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।
राजीनामा पत्रमा उनीहरूले आफूहरू आजैदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन्।
उनीहरूले समाजका विभिन्न क्षेत्रका सक्षम तथा योग्य व्यक्तित्वलाई एकताबद्ध गर्दै विस्तृत योजनासहित छिट्टै सार्वजनिक रूपमा प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।