डा. दिलिप चौरसिया हाडजोर्नी तथा नसा रोग विशेषज्ञ हुन् । काठमाण्डौं विश्वविद्यालयबाट अर्थोपेडिक विभागमा एमडी गरेका उनले १४ वर्षदेखिसेवा दिँदैआएका छन् । नारायणी अस्पताल र सीता सुपर स्प्यासिलिटी एण्ड रिसर्च सेन्टरबाट सेवा दिइरहेका छन् । डा. चौरसियासँग हाडजोर्नीको समस्याबारे मध्य नेपालका लागि कमला भण्डारीले गरेको कुराकानी:
हाडजोर्नीसम्बन्धी देखिने मुख्य समस्याहरू केके हुन् ?
हातखुट्टाको हड्डी भाँचिने, घुँडाको समस्या, ढाड तथा कम्मरको दुखाई, घुडा खिइने, घाँटी दुख्ने तथा काँध उठाउन गाह्रो हुने समस्या हुन्छ । बाथ रोग, हाड पातलो तथा कमजोर हुने, स्नायुबन्धन वा जोर्नीतन्तुको समस्या, हड्डी र ढाडको टिबी हुने र नसा सुन्निनेजस्ता समस्या हुन्छन् ।
पछिल्लो समयमा हाडजोर्नी कमजोर बन्नुको कारण के हो ?
शारीरिक गतिविधि कम हुनु, लामो समय बस्नु, हिड्डुल र व्यायाम कम गर्नु, शरीरमा घाम कम लाग्नु, क्याल्सियमको कमी हुनु, खानाबाट पर्याप्त पोषण तत्वको कमी हुनु र उमेर बढ्दै जाँदा पनि हड्डी कमजोर हुन्छ । महिलाहरूमा विशेष गरेर महिनावारी बन्द भएपछि हड्डीको तौल घट्नु र तौल बढी हुनु पनि समस्याको कारण हो । धूमपान तथा अत्याधिक मदिरा सेवन गर्दा, शरीरलाई हानी गर्ने खानेकुरा खानाले, शरीरमा प्रोटिन, क्याल्सियमलगायत पोषण तत्वको कमी, बाथ रोग तथा अन्य रोगका कारण हाडजोर्नी कमजोर हुन्छ ।
हाड बलियो बनाउन के कुरामा ध्यान दिनुपर्छ ?
क्याल्सियम पर्याप्त मात्रामा भएको खाना जस्तै दूध पनिर, तिल, सागपात, माछा, आदि खानुपर्छ । नियमित रुपमा शरीरमा घाम लाग्ने ठाउँमा बस्नु पर्छ । नियमित व्यायम, पर्याप्त प्रोटिन भएको खानेकुरा अण्डा,दुध, माछा, मासु, दाल, फलफूल र हरियो सागपात खानुपर्छ । स्वास्थ्य र शरीरको तौल सन्तुलनमा राख्नुपर्छ । जोखिमपूर्ण अवस्था आएमा तुरुन्त जाँच गर्नुपर्छ ।
जोर्नी खिइने समस्या कसरी हुन्छ ?
उमेर बढ्दै जानु, शरीरको तौल बढी हुनु, पुरानो चोटपटक वा हड्डी भाचिएको, घुँडाको लिगामेन्टमा पुरानो चोट भएमा, लामो समय भारी काम गर्ने मानिसको जोर्नी खिइने समस्या हुुन्छ । बाथ रोग भएमा पनि जोर्नीमा समस्या हुन्छ ।
कुन उमेरमा हड्डी खिइन सुरु हुन्छ ?
महिलाको विशेष गरेर ४५–५० वर्षपछि महिनावारी बन्द भएपछि हड्डीको घनत्व छिटो घट्न सक्छ । महिला र पुरुषहरू ७०–७५ वर्षपछि महिला र पुरुष दुवैमा हड्डी खिइने समस्या हुन्छ । कम उमेरमा भिटामिन डी र क्याल्सियमको कमी, लामो समय उभिएर काम गर्ने मानिसको हड्डी खिइने समस्या हुन्छ । कम शारीरिक गतिविधि गर्ने हड्डी खिइने समस्या हुन्छ ।
अष्टियोपोरोसिस के हो ?
अष्टियोपोरोसिस् हड्डी कमजोर बनाउने रोग हो । यसले हड्डीहरू कमजोर, पातलो र कमजोर बनाई स्वास्थ्य समस्या निम्त्याउँछ । जसले गर्दा सजिलै भाँचिने (फ्र्याक्चर हुने) जोखिम बढ्छ । यसलाई ‘हड्डी खिइने रोग’ पनि भनिन्छ । हड्डीको घनत्व र गुणस्तर घटेर हड्डी कमजोर हुने र सजिलै भाँचिन सक्ने अवस्था हो । उमेर बढ्दै जाँदा यसको जोखिम बढेर जान्छ । विशेषगरी महिलाको महिनावारी बन्द भएपछि क्याल्सियम र भिटामिन डीको कमी, शारीरिक गतिविधि कम हुनु, धुम्रपान, मदिराको सेवन गर्ने मानिस, कम तौल भएकाहरू अष्टियोपोरोसिस्को जोखिममा हुन्छन् । लामो समय औषधीको प्रयोगले पनि जोखिम बढ्न सक्छ । सुरुमा कुनै लक्षण हँुदैन । त्यसैले यसलाई साइलेन्ट रोग भनिन्छ । ढाड दुख्ने, उचाई घट्ने, ढाड कुप्रो पर्ने तथा हिप र ढाडको हड्डी भाँचिन सक्छ ।
अष्टियोपोरोसिस्बाट बच्न के गर्नुपर्छ ?
क्याल्सियम र भिटामिन डी भएको खाना प्रशस्त मात्रामा खाने । मांसपेशीलाई बलियो बनाउन, मद्यपान र धूमपानबाट बच्ने र आवश्यक परे चिकित्सककोमा जाँच गरी औषधी सेवन गर्नु पर्दछ । खानपानमा सुधार गर्नु पर्दछ । क्याल्सियमयुक्त खानाहरू जस्तैः दूध, दही, चिज, हरियो सागपात (जस्तै ब्रोकाउली, पालुङ्गो), र बदाम खानुपर्छ । शरीरमा क्याल्सियम पचाउन भिटामिन डी चाहिन्छ । बिहानको घाममा बस्ने, माछा, र अण्डाको पहेँलो भाग खाने गर्नुपर्छ । नियमित व्यायाम गर्नु पर्दछ । हिँड्ने, जोगिङ गर्ने र भ¥याङ चढ्ने गर्नाले हड्डी बलियो हुन्छ । हल्का वजन उठाउने व्यायामले मांसपेशी र हड्डी दुवैलाई तागत दिन्छ । अस्वस्थ बानीहरू धूमपान र अत्यधिक अल्कोहल सेवनले हड्डी तीव्र रूपमा कमजोर बनाउँछ । त्यसैले यी बानीहरू पूर्ण रूपमा छोड्नुपर्छ । धेरै चिया वा कफी पिउनाले पनि क्याल्सियम सोस्ने प्रक्रियामा बाधा पु¥याउँछ ।
हड्डी बलियो छ कि कमजोर भनेर कसरी थाहा पाउन सकिन्छ ?
चिकित्सकको सल्लाह र जाँचबोन डेन्सिटी टेस्टबाट जाँच गरेर हड्डी कत्तिको बलियो छ भनेर पत्ता लगाउन सकिन्छ । चिकित्सकको सल्लाहमा क्याल्सियम र भिटामिन डीका चक्कीहरू वा हड्डी बलियो बनाउने अन्य औषधिहरू सेवन गर्न सकिन्छ ।