इन्डोनेसियाको जाभा सागरमा खराब मौसमका कारण यात्रुवाहक फेरी दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका १०७ जनालाई उद्धार गरिएको छ भने १३० जना अझै बेपत्ता छन्।
‘भर्गो ट्रान्सपोर्ट ८’ नामक फेरी सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ जाँदै गर्दा आइतबार बिहान सम्पर्कविहीन भएको इन्डोनेसियाको खोज तथा उद्धार निकायले जनाएको छ। फेरीमा २१३ यात्रु र ३० चालक दलका सदस्य गरी २४३ जना सवार थिए।
स्थानीय समयअनुसार आइतबार बिहान करिब २ बजे बान्जारमासिनबाट १५० किलोमिटर दक्षिणमा पुग्दा फेरीसँग सम्पर्क विच्छेद भएको थियो। त्यसको करिब दुई घण्टापछि जहाज सञ्चालक कम्पनीले दुर्घटनाबारे उद्धार निकायलाई जानकारी गराएको थियो।
उद्धारका लागि इन्डोनेसियाको खोज तथा उद्धार निकाय, नौसेना, समुद्री प्रहरीलगायत निकाय सम्मिलित संयुक्त टोली परिचालन गरिएको छ। घटनास्थलमा विभिन्न जहाज र हेलिकोप्टर पठाइएको छ भने करिब २८० उद्धारकर्मी परिचालन भएका छन्। जाभा सागर क्षेत्रमा रहेका अन्य जहाजलाई समेत बेपत्ता यात्रुको खोजीमा सहयोग गर्न सतर्क गराइएको छ।
उद्धार गरिएका यात्रुमध्ये केहीलाई अन्य जहाजले सुरक्षित स्थानमा पुर्याएका छन्। दुर्घटनापछि आफन्तहरू बान्जारमासिनस्थित त्रिसक्ति बन्दरगाहमा भेला भएर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी पर्खिरहेका छन्।
फेरीमा सवार आफ्ना आठ आफन्तको अवस्थाबारे जानकारी लिन बन्दरगाह पुगेकी बान्जारमासिनकी बासिन्दा रुस्मिलावतीले अहिलेसम्म उनीहरू उद्धार भए–नभएको जानकारी नपाएको बताएकी छन्।
फेरीमा सवार एक यात्रुले दुर्घटनाअघि सामाजिक सञ्जालमा समुद्रका छाल निकै डरलाग्दा रहेको भन्दै स्टाटस लेखेको उनका आफन्तले बताएका छन्।
इन्डोनेसियामा १७ हजारभन्दा बढी द्वीप रहेकाले फेरी तथा जल यातायात सर्वसाधारणको नियमित यात्राको महत्वपूर्ण माध्यम हो। पछिल्लो दुर्घटना एक महिनाअघि मदुरा टापु नजिक अर्को फेरीमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको घटनापछि भएको हो।