लगातारको सुक्खा र जलस्रोत सुकेपछि वीरगञ्जसहितका क्षेत्रहरू गम्भीर खानेपानी संकटमा परेका छन्। जनजीवन प्रभावित बनेपछि मधेश प्रदेश सरकारले बुधबारदेखि आपतकालीन रूपमा पानी वितरण सुरु गरेको छ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारले हाल आफ्ना ८ वटा वारुणयन्त्र संकटग्रस्त क्षेत्रमा खटाएको छ। तीमध्ये प्रत्येक वारुणयन्त्र ५ हजार लिटर क्षमताको रहेकाले एकपटकमा जम्मा ४० हजार लिटर पानी वितरण हुन सक्ने प्रदेश सरकारको भनाइ छ।
मुख्यमन्त्री सतीश कुमार सिंहले बुधबार बिहान वीरगञ्जबाट वारुणयन्त्रहरू रवाना गर्दै भने, “खानेपानी अभावबाट जनता छटपटिरहेका छन्, यो अवस्थामा सरकार चुप लागेर बस्दैन। अहिले सरकार पूर्ण रूपमा क्रियाशील छ।”
प्रभावित क्षेत्रमा २४ सै घण्टा वारुणयन्त्र परिचालन गरिने जनाइएको छ भने पानी वितरणको संयोजन नेपाली सेनाले गर्नेछ। पानीको सहज पहुँच सुनिश्चित गर्न प्रदेश सरकारले यसअघि वन कार्यालयका ३ वटा ट्याङ्कर पनि परिचालन गरिसकेको छ।
मुख्यमन्त्री सिंहका अनुसार अझै अभाव कायमै रहेका क्षेत्रमा राहतस्वरूप नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर र १ अतिरिक्त वारुणयन्त्र खटाउने तयारी भइरहेको छ।
“यो संकट समाधान गर्न प्रदेश सरकार मात्र होइन, संघीय सरकार, स्थानीय तह र दातृ निकायहरूसँग मिलेर हामी स्रोतसाधनको अधिकतम उपयोग गर्दैछौं,” मुख्यमन्त्री सिंहले बताए।
पानीको चरम अभावले प्रभावित वीरगञ्जलगायतका क्षेत्रहरूमा प्रदेश सरकारको यो आपतकालीन पहलले तत्काल राहत मिल्ने अपेक्षा गरिएको छ।