चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले रौतहट र मधेश प्रदेशका विभिन्न जिल्लामा चुरे क्षेत्रको विनाश, अवैध उत्खनन, काठ तस्करी र अतिक्रमणबारे गम्भीर आरोप लगाउँदै उच्चस्तरीय छानबिनको माग गरेको छ। अभियानले आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै रौतहट डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहको संलग्नतामा वन क्षेत्रमा व्यापक अव्यवस्थाका घटनाहरू घटेको दाबी गरेको छ।
ज्ञापनपत्रमा भनिएको छ कि काठको निलामीदेखि तस्करीसम्म, ढुंगा, गिट्टी र बालुवाको चोरी निकासी र वन अतिक्रमणसम्ममा साहसहित केही वन कर्मचारीहरूको प्रत्यक्ष संलग्नता देखिएको छ। साथै, अभियानले मधेश प्रदेशका वनमन्त्री त्रिभुवन साह र वनसचिव उद्धव घिमिरेको भूमिका पनि शंकास्पद रहेको उल्लेख गर्दै उनीहरू विरुद्ध कडा कारबाहीको माग गरेको छ।
गैंडाटार क्षेत्रमा भएको वन फडानी र अतिक्रमण योजनाबद्ध र दीर्घकालीन भएको आरोप लगाउँदै अभियानले उक्त क्षेत्रको उच्चस्तरीय छानबिन र तत्काल संरक्षण गर्नुपर्ने माग गरेको छ। गैंडाटार क्षेत्रको निरीक्षणपछि अभियानका राष्ट्रिय अध्यक्ष सुनिल कुमार यादवले उक्त क्षेत्रको अतिक्रमण महिनौंदेखि भइरहेको पुष्टि गरेका छन्।
ज्ञापनपत्रमार्फत अभियानले डिभिजन वन प्रमुख हेमन्त साहलाई प्रदेशमा झिकाएर आर्थिक वर्ष २०८१–८२ मा गरेका सम्पूर्ण कामको स्पष्टिकरण लिनुपर्ने, गैंडाटार वन फडानीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, वनमन्त्री त्रिभुवन साहलाई चुरे संरक्षणमा विफल भएको भन्दै राजीनामा दिनुपर्ने र वनसचिव उद्धव घिमिरेलाई प्रदेशबाट हटाइनुपर्ने माग गरेको छ।
चुरे संरक्षण अभियानले विगतदेखि नै यस क्षेत्रको रक्षा तथा भूमिहीनका लागि भूमि अधिकारको माग गर्दै आन्दोलन, अनशन र काठमाडौंसम्मको पैदल यात्रा गरिरहेको छ। अभियानले हाल देखिएको अतिक्रमण, भ्रष्टाचार र चुरे विनाशविरुद्ध निर्णायक दबाब सिर्जना गर्ने चेतावनी दिएको छ।
