स्थानीय समितिले काम गर्नु पर्दछ
तीनै तहका सरकारमा बालअधिकार संरक्षण र प्रवर्धनका विषय सम्बोधनका लागि संस्थागत संयन्त्रको व्यवस्था छन् । यस क्रममा सरकारले अन्तर्राष्ट्रिय र राष्ट्रिय विकास साझेदार, नागरिक समाज, निजी क्षेत्रलगायतसँग समन्वय र सहकार्य गर्दैआएको छ । नेपाल पक्षधर भएका संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा, १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि १९७५, बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठका महासन्धिलगायतका घोषणा बालबालिकासँग सम्बन्धित छन् । तथापि, संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ नै बालबालिकासम्बन्धी मूल दस्ताबेजको रुपमा छ । बालबालिकाको लागि विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा छ । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बालअधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बालअधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् । तहगत सरकारले काम गरेका छन् । स्थानीय सरकारमा प्रत्येक पालिकामा बालअधिकार समिति गठन भएका छन् । यी समितिले काम गर्नु पर्दछ ।

बालअधिकार संरक्षणमा राज्यको भूमिका महत्वपूर्ण
बालबालिकाको अभिभावक नै राज्य हो । त्यसैले उनीहरूको अधिकार सुनिश्चित गर्न राज्यको महत्वपूर्ण भूमिका हुन्छ । राज्यले बालबाललिकाको गास, वास, कपास र शिक्षा तथा स्वास्थ्य उपाचारको ग्यारेन्टी गर्नुपर्छ । राज्यले बालबालिकाको अधिकार रक्षाका लागि आवश्यक ऐन, कानून बनाएर उनीहरूको भविष्य उज्जवल बनाउनुपर्छ । नेपालजस्तो विकासोन्मुख देश धेरै बालबालिकाहरू अभिभावकविहीन छन् । अहिले पनि जन्मदर्ता र नागरिकताबाट बन्चित छन । शिक्षाको पहुचभन्दा टाढा छन् र यस्ता बालबालिकाको लागि विशेष व्यवस्था गर्नुपर्छ । विभिन्न समयमा नेपालमा आएको बाढी, पहिरो तथा भूकम्पको प्रभावले बालबालिकाहरू प्रभावित भएका छन् । उनीहरूको लागि सरकार अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुपर्छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३७ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई विनाशर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो । महासन्धिका प्रावधानको कार्यान्वयनका लागि नेपालले संवैधानिक, कानूनी, नीतिगत र संरचनागत र कार्यक्रमगत व्यवस्था गरेको छ । सबै अवस्थाका बालबालिकाको आधारभूत आवश्यकता तथा अधिकार परिपूर्तिका लागि संवैधानिक, कानूनी र नीतिगत व्यवस्था छन् । नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रुपमा लिइएको छ । धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरिएको छ । बालबालिकाको लागि विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा छ ।
बालबालिकाको मुस्कान नै राष्ट्रको समृद्धि
बालबालिका राष्ट्रका भविष्यमात्र होइनन्, आजको समाजका अमूल्य सदस्य र भोलिको परिवर्तनका संवाहक पनि हुन् । उनीहरूको बाल्यकाल कस्तो हुन्छ भन्ने कुराले राष्ट्रको भविष्य कस्तो बन्नेछ भन्ने निर्धारण गर्छ। त्यसैले बालबालिकाको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व मात्र होइन, सभ्य समाज निर्माणको आधारभूत शर्त हो । राज्यले प्रत्येक बालबालिकालाई आर्थिक अवस्था, जात, धर्म, लिङ्ग, भाषा वा भौगोलिक पहिचानका आधारमा कुनै विभेद नगरी शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र समान अवसरको प्रत्याभूति गर्नुपर्छ । विद्यालयको ढोका सबै बालबालिकाका लागि खुला हुनुपर्छ र स्वास्थ्य सेवामा पहुँच कुनै परिवारको आर्थिक हैसियतले निर्धारण गर्नु हुँदैन । सडकमा जीवन बिताउन बाध्य, विद्यालयबाट टाढिएका, बालश्रममा संलग्न, हिंसा तथा दुव्र्यवहारको सिकार भएका बालबालिकाको पहिचान गरी उद्धार, संरक्षण, शिक्षा र पुनस्र्थापनाको जिम्मेवारी राज्यले संवेदनशीलताका साथ पूरा गर्नुपर्छ । अनाथ, अपाङ्गता भएका, विपन्न तथा जोखिममा रहेका बालबालिकालाई विशेष संरक्षण र अवसर प्रदान गरिनुपर्छ । बालअधिकार कानून र दस्तावेजमा सीमित हुनु हुँदैन, प्रत्येक बालबालिकाले व्यवहारमै सुरक्षित घर, गुणस्तरीय विद्यालय, सहज स्वास्थ्य सेवा र सम्मानपूर्ण समाजको अनुभूति गर्न पाउनुपर्छ। बालविवाह, बालश्रम, बालशोषण र हिंसाविरुद्ध कानुनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना र सामाजिक जिम्मेवारी पनि बढाउन आवश्यक छ । बालबालिकाको आवाज सुन्ने, उनीहरूको भावना बुझ्ने र निर्णय प्रक्रियामा उचित सहभागिता सुनिश्चित गर्ने संस्कार राज्य तथा समाजले विकास गर्नुपर्छ । बालबालिकामाथि गरिने लगानी खर्च होइन, राष्ट्रको भविष्य निर्माण हो । उनीहरूको अधिकार सुरक्षित भएको दिन मात्रै समृद्ध, न्यायपूर्ण र मानवतापूर्ण समाजको वास्तविक सुरुवात हुनेछ । बालबालिकाको मुस्कान नै राष्ट्रको समृद्धिको सबैभन्दा सुन्दर संकेत हो ।