चिकित्सा शिक्षा क्षेत्रमा सिट निर्धारण र शिक्षण शुल्क पुनरवलोकनको विषयलाई लिएर पुनः विवाद चुलिएको छ। निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सिट निर्धारण प्रक्रिया पारदर्शी नभएको र शिक्षण शुल्क पुनरवलोकन नगरिएको भन्दै नयाँ विद्यार्थी भर्ना लिन असमर्थ रहेको घोषणा गरेको छ।
एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई तत्काल भर्ना प्रक्रिया अघि नबढाउनसमेत आग्रह गरेको छ। आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षा २०२७ अन्तर्गत एमबीबीएस, बीएएमएस, बीएस्सी नर्सिङ, बी.अप्टोमेट्रीलगायत कार्यक्रमको नतिजा सार्वजनिक गरिरहेका बेला निजी कलेजहरूको यस्तो निर्णयले विद्यार्थी र अभिभावकमा अन्योल बढाएको छ।
निजी मेडिकल कलेज सञ्चालकहरूले मुख्य रूपमा सिट निर्धारणको पारदर्शिता र शिक्षण शुल्कको वैज्ञानिक समायोजनलाई आफ्नो मागका रूपमा अघि सारेका छन्।
आयोगले गत असोज ३० गते सिट निर्धारणसम्बन्धी सूचना जारी गरे पनि त्यसका लागि अपनाइएको मापदण्ड, मूल्याङ्कनका सूचक, प्रत्येक सूचकको भार र गणना विधि सार्वजनिक नगरेको एसोसिएसनको आरोप छ।
कलेज सञ्चालकहरूले प्रत्येक शिक्षण संस्थाको छुट्टाछुट्टै स्कोर कार्ड सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। सिट वृद्धि, यथावत् वा कटौती गर्नुको स्पष्ट आधार र कारणसमेत आयोगको वेबसाइटमा सार्वजनिक हुनुपर्ने उनीहरूको भनाइ छ। मूल्याङ्कनको विस्तृत विवरण सार्वजनिक भएमा कलेजहरूले आफ्नो अवस्था, जनशक्ति र भौतिक पूर्वाधारको समीक्षा गरी सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सक्ने एसोसिएसनको तर्क छ।
विवादको अर्को प्रमुख विषय शिक्षण शुल्क पुनरवलोकन हो। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ तथा नियमावली, २०७७ को नियम २३ मा शिक्षण संस्थाको वास्तविक लागत, सञ्चालन खर्च, मुद्रास्फीति, भौगोलिक अवस्था र छात्रवृत्तिको भारलाई ध्यानमा राखेर शुल्क निर्धारण तथा पुनरवलोकन गर्नुपर्ने व्यवस्था छ।
निजी कलेज सञ्चालकहरूका अनुसार पछिल्लो पाँच वर्षमा नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार मुद्रास्फीति दर करिब २६.६४ प्रतिशतले वृद्धि भएको छ। यस्तो अवस्थामा पुरानै शुल्कमा कलेज सञ्चालन गर्न आर्थिक रूपमा कठिन भएको उनीहरूको दाबी छ।
यस अवधिमा चिकित्सक, नर्स तथा अन्य कर्मचारीको पारिश्रमिक, न्यूनतम ज्याला, विद्युत्, इन्धन, प्रयोगशाला उपकरण, विश्वविद्यालय शुल्क र अस्पताल सञ्चालन खर्चमा वृद्धि भएको कलेज सञ्चालकहरूको भनाइ छ। साथै छात्रवृत्ति, निःशुल्क शय्या र स्वास्थ्य शिविरजस्ता सामाजिक उत्तरदायित्वका दायित्वसमेत निर्वाह गर्नुपर्ने भएकाले हाल कायम शुल्क र वास्तविक सञ्चालन खर्चबीच ठूलो अन्तर देखिएको उनीहरूले बताएका छन्।
यसअघि चिकित्सा शिक्षा आयोगको १८औँ पूर्ण बैठकबाट गठित शुल्क तथा सिट पुनरवलोकन कार्यदलले स्नातक र स्नातकोत्तर तहको शुल्क समायोजनसम्बन्धी सिफारिस पेस गरेको थियो। त्यस्तै, सन् २०२५ मा आयोग र स्वास्थ्य मन्त्रालयसँग सन् २०२६ देखि ऐनअनुसार शिक्षण शुल्क निर्धारण तथा समायोजन गर्ने समझदारी भएको एसोसिएसनले जनाएको छ।
तर, कार्यदलको सिफारिस र विगतका सहमति कार्यान्वयनमा राज्य पक्ष उदासीन बनेको कलेज सञ्चालकहरूको आरोप छ। कानुनी व्यवस्था र सहमति कार्यान्वयन नहुँदा निजी क्षेत्रको अर्बौँ रुपैयाँको लगानी जोखिममा परेको उनीहरूको दाबी छ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले लामो समयदेखि चिकित्सा शिक्षाको सिट र शुल्क पुनरवलोकन नहुँदा कलेज सञ्चालनमा कठिनाइ भएको बताए।
उनले बजारभाउ, महँगी, कर्मचारीको तलब, बिजुली तथा पानीको महसुल र अन्य सञ्चालन खर्च बढ्दै गएको अवस्थामा पुरानै शुल्कमा संस्था सञ्चालन गर्न नसकिने बताए। आर्थिक सूचक, महँगी, नतिजा र गुणस्तरका आधारमा प्रत्येक वर्ष वा निश्चित अवधिमा शुल्क तथा सिट पुनरवलोकन गर्ने वैज्ञानिक व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
अध्यक्ष कार्कीले सिट निर्धारणका मापदण्ड सार्वजनिक गर्न तथा कलेजहरूको व्यक्तिगत स्कोर कार्ड र मूल्याङ्कन विधि पारदर्शी बनाउन पनि माग गरे। उनका अनुसार पछिल्लो १० वर्षमा जम्मा ५०० सिट मात्र थपिएको छ भने शिक्षण शुल्कसमेत न्यून मात्र वृद्धि भएको छ।
कलेज सञ्चालकहरू पठनपाठन रोक्ने पक्षमा नरहेको उल्लेख गर्दै उनले माग सम्बोधन नभएसम्म नयाँ विद्यार्थी भर्ना प्रक्रिया अघि नबढाई प्रतीक्षा गर्ने बताए। समस्या समाधानका लागि सम्बन्धित निकायसँग तत्काल वार्ता गरी दीर्घकालीन नीति तय गर्नुपर्नेमा उनले जोड दिए।
आयोग भन्छ– पुरानै शुल्क कार्यान्वयन हुन्छ
यता चिकित्सा शिक्षा आयोगले भने तत्काल शिक्षण शुल्क पुनरवलोकनबारे कुनै औपचारिक छलफल सुरु नभएको जनाएको छ।
आयोगका सूचना अधिकारी अर्जुन ढकालले हाल कायम शिक्षण शुल्क नै कार्यान्वयनमा आउने बताए। आयोगले २०७७ माघ २९ र २०७८ जेठ २८ गतेको निर्णयबाट स्नातक तथा सोभन्दा माथिल्ला तहको शिक्षण शुल्क निर्धारण गरेको थियो। पछि २०७९ मङ्सिर १५ गतेको निर्णयबाट शुल्क समायोजन गरी एकीकृत शुल्क कायम गरिएको थियो।
यस्तो छ चिकित्सा शिक्षाको हाल कायम शुल्क
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कअनुसार स्नातक तहमा एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ शुल्क कायम छ।
त्यस्तै, बीडीएसका लागि २० लाख ९२ हजार २९० रुपैयाँ, बीएस्सी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ र बीएएमएसका लागि ११ लाख ३१ हजार ९३० रुपैयाँ शुल्क तोकिएको छ।
स्नातक तहकै अन्य कार्यक्रमतर्फ बीएनएस/पीबीएनका लागि ५ लाख १८ हजार रुपैयाँ र फार्म डीका लागि ६ लाख ७३ हजार ४०० रुपैयाँ शुल्क कायम छ। बीपीटी, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी, मेडिकल माइक्रोबायोलोजी, मेडिकल बायोकेमिस्ट्री, बीफार्मेसी, बीपीएच, बी.अप्टोमेट्री, बी.परफ्युजन टेक्नोलोजी र बीएएसएलपीका लागि प्रतिकार्यक्रम ७ लाख ७७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
स्नातकोत्तर तहमा एमफार्मेसीका लागि ५ लाख १९ हजार ६६० रुपैयाँ, एमएस्सी नर्सिङ/एमएन, एमपीएच, मास्टर अफ फिजियोथेरापी र मास्टर अफ अप्टोमेट्रीका लागि ९ लाख २० हजार २३० रुपैयाँ तथा एमडी आयुर्वेदका लागि ९ लाख ५७ हजार ६४० रुपैयाँ शुल्क कायम गरिएको छ।
त्यस्तै, एमएस्सी मेडिकल माइक्रोबायोलोजी, मेडिकल बायोकेमिस्ट्री, एमएस्सी एमआईटी र एमएस्सी एमएलटीका लागि ७ लाख ५७ हजार ८३० रुपैयाँ शुल्क तोकिएको छ।
स्नातकोत्तर तहका आधारभूत तथा क्लिनिकल विषयअन्तर्गत एमडी बायोकेमिस्ट्री, कम्युनिटी मेडिसिन, फरेन्सिक मेडिसिन, माइक्रोबायोलोजी, फार्माकोलोजी, फिजियोलोजी, एमएस एनाटोमी तथा एमडी हस्पिटल एडमिनिस्ट्रेसनका लागि १० लाख ८५ हजार ८७० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
त्यसैगरी, एमडी पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, डर्माटोलोजी, इन्टरनल मेडिसिन, प्याथोलोजी, साइकियाट्री, रेडियोलोजी, गाइनोकोलोजी, अप्थाल्मोलोजी, ईएनटी, एमडीएसका विभिन्न विधा, एमएस जनरल सर्जरी तथा एमएस अर्थोपेडिक्सलगायत विषयका लागि २३ लाख ८१ हजार ७६० रुपैयाँ शुल्क कायम छ।
भर्ना प्रक्रिया प्रभावित हुने चिन्ता
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक, डीएम/एमसीएच र एनबीएमएस (सब-स्पेसियालिटी) तहमा कुल ९५ शिक्षण संस्थामा सिट निर्धारण गरेको छ। यसमध्ये स्नातक तहका ८८, डीएम/एमसीएच तहका १५ र एनबीएमएस तहका ६ शिक्षण संस्था रहेका छन्। डीएम/एमसीएच तहका आठ शिक्षण संस्था स्नातक तहको सूचीमा समेत समावेश छन्।
यसैबीच, आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा योग्यताक्रमअनुसार सार्वजनिक गरिरहेको छ। कात्तिक दोस्रो साता सञ्चालन भएको परीक्षामा सहभागी उम्मेदवारको नतिजा क्रमशः प्रकाशन भइरहेको र परीक्षार्थीले आफ्नो अनलाइन प्रोफाइलमार्फत पनि नतिजा हेर्न सक्ने आयोगले जनाएको छ।
निजी कलेजहरूले भर्ना प्रक्रिया रोक्ने घोषणा गरेपछि नतिजा सार्वजनिक भइसकेका हजारौँ विद्यार्थी अन्योलमा परेका छन्। कतिपय विद्यार्थी स्वदेशमै भर्ना प्रक्रिया अवरुद्ध हुने आशङ्काले विदेशमा अध्ययन गर्ने विकल्पबारे सोच्न थालेका छन्।
चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजबीचको विवादले समग्र चिकित्सा शिक्षा प्रणाली तथा नयाँ शैक्षिक सत्र प्रभावित हुने जोखिम बढाएको छ। निजी कलेजहरूले सिट निर्धारणको स्कोर कार्ड सार्वजनिक गर्न, वैज्ञानिक आधारमा शिक्षण शुल्क समायोजन गर्न तथा शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, आयोग, विश्वविद्यालय र कलेज प्रतिनिधिसहितको संयुक्त बैठक तत्काल आयोजना गर्न माग गरेका छन्।
समयमै संवाद र सहमतिमार्फत समस्या समाधान हुन नसके शैक्षिक सत्र प्रभावित हुनुका साथै विद्यार्थी र अभिभावकले थप आर्थिक तथा मानसिक तनाव व्यहोर्नुपर्ने देखिन्छ।