१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि विभिन्न खेलका प्रतिस्पर्धा भने आजैदेखि सञ्चालन हुन लागेका हुन्।
दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार आजदेखि ६ खेलका प्रतिस्पर्धा सुरु हुनेछन्। जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेल समावेश छन्।
प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुने तय भएको छ। सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई-स्पोर्ट्स र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन्।
त्यस्तै, टेनिस र खोखो बर्दियामा, जुडो र कुस्ती सल्यानमा, शारीरिक सुगठन पश्चिम रुकुममा, आईटीएफ तेक्वान्दो दैलेखमा तथा बुद्धिचाल कालिकोटमा आयोजना हुनेछन्। पौडी र सुटिङका प्रतिस्पर्धा भने नेपालगञ्जमा सञ्चालन हुनेछन्।
लुम्बिनी प्रदेशका दुई जिल्लामा समेत खेल आयोजना हुने भए पनि कर्णाली प्रदेशका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल राखिएको छैन।
लामो समयको प्रतीक्षापछि कर्णाली प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिताका लागि राजधानी वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ। विभिन्न प्रदेशका खेलाडी तथा टोलीहरू पनि वीरेन्द्रनगर आइपुगेका छन्।
प्रतियोगिताका लागि निर्माण गरिएको वीरेन्द्रनगरस्थित रंगशाला सोमबार हस्तान्तरणसँगै उद्घाटन गरिएको थियो। मुख्यमन्त्री मङ्गलबहादुर शाहीले रंगशालाको उद्घाटन गरेका हुन्।
प्रतियोगिताको प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो। र्यालीमा मुख्यमन्त्री शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव रविन चन्द, खेलाडी तथा स्थानीयको सहभागिता रहेको थियो।
१०औँ राष्ट्रिय खेलकुदको उद्घाटन मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित रंगशालामा हुनेछ। प्रतियोगिताको समापन मङ्सिर २७ गते गर्ने तालिका तय गरिएको छ। प्रतियोगिताका उद्घाटन र समापन दुवै कार्यक्रम सुर्खेतमै आयोजना हुनेछन्।