जनकपुरधाम र भारतको अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ। रामायण सर्किटलाई रेलमार्गसँग जोड्ने उद्देश्यसहित अघि बढाइएको विशेष रेल सेवा प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी गरिएको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक समन्वय तथा प्राविधिक तयारी भइरहेको छ। रेल सेवा उद्घाटनको औपचारिक मिति भने तय भइसकेको छैन।
‘प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ,’ पराजुलीले भने, ‘यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ।’
प्रधानमन्त्री शाहले आगामी ६ मंसिरदेखि भारत भ्रमण गर्ने तयारी छ। सोही भ्रमणलाई लक्षित गरी जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, सुरक्षा, भन्सार तथा अध्यागमनसम्बन्धी विषय टुंग्याउने प्रयास भइरहेको छ।
रेल सेवा सञ्चालनका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भइसकेको पराजुलीले जानकारी दिए।
यसैक्रममा केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीहरूको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।
सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेल सेवाले जोड्ने भएपछि धार्मिक पर्यटनका साथै दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तारमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। विशेषगरी रामायण सर्किटअन्तर्गत तीर्थयात्रीको आवागमन सहज बनाउनुका साथै भारतीय धार्मिक पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले दुई धार्मिक तथा सांस्कृतिक सहरबीच रेल सेवा सञ्चालन हुँदा पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने बताए।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। प्रस्तावित विशेष सेवाले यसअघि नै सञ्चालनमा रहेको सीमापार रेल सञ्जाललाई धार्मिक पर्यटनसँग जोड्दै नेपाल र भारतबीचको आवागमन थप विस्तार गर्ने अपेक्षा गरिएको छ।