धनुषाको ढल्केवरमा निर्माण गर्ने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयोजनासम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिएकी छन् ।
आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले आवश्यक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान गरिने र त्यसपछि निर्माण कार्य अघि बढ्ने बताइन् ।
‘ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन । यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ,’ उनले भनिन् ।
निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै मन्त्री मेहताले आयोजनाको शिलान्यास छिट्टै हुने विश्वास व्यक्त गरिन् ।
तर, स्थानीयवासीले भने ट्रमा सेन्टर निर्माणको विषयमा लामो समयदेखि आश्वासन पाउँदै आए पनि काम सुरु नभएकाले आयोजना कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्दै आएका छन् ।
निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले पनि निर्माण कार्य सुरु भएपछि मात्रै स्थानीयवासी विश्वस्त हुने बताए । आश्वासनभन्दा निर्माणको वास्तविक सुरुआत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले शिलान्यास प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए ।
‘ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन् । अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन । भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ,’ उनले भने ।
ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण भएपछि दुर्घटनामा परेका तथा गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, आयोजनाको निर्माण कार्य सुरु हुन र सेवा सञ्चालनमा आउन अझै टेन्डर तथा निर्माणसम्बन्धी प्रक्रिया पूरा हुनुपर्नेछ ।