नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेलमा टस जितेको कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
खेल सुरु हुनुअघि मैदानमा केहीबेर हल्का वर्षा भएको थियो । वर्षापछि मौसम धुम्मिएकाले खेल प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।
विराटनगर किंग्सले प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो । त्यसैले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा विराटनगर रहेको छ ।
यता, कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । आज विराटनगरलाई हराउँदै आफ्नो जितको लय कायम राख्ने योजनामा कर्णाली छ ।
विराटनगरले आजको खेलका लागि टोलीमा एक परिवर्तन गरेको छ । शुभम् रन्जनेको स्थानमा शेहान जयसूर्यालाई प्लेइङ ११ मा समावेश गरिएको छ । त्यस्तै, सुजन थपलिया टोलीमा रहँदा रुपेश सिंह बाहिरिएका छन् ।
आजको खेलका लागि कर्णाली याक्सको प्लेइङ ११ मा सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, युनिस सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अकबर अली, अरिफुल इस्लाम, मार्क वाट र हुसैन तालत छन् ।
त्यस्तै, विराटनगर किंग्सको प्लेइङ ११ मा सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसीर अहमद, नरेन साउद, इमरान शेख, सुजन थपलिया, शेहान जयसूर्या, चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेल रहेका छन् ।
दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ । विराटनगर पहिलो जितको खोजीमा रहँदा कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।