इजरायलको महत्वपूर्ण आमनिर्वाचनको प्रारम्भिक एक्जिट पोलले कुनै पनि राजनीतिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने अवस्था नदेखाएपछि सरकार गठनमा अन्योल बढ्ने संकेत गरेको छ। लामो समयदेखि प्रधानमन्त्री रहेका बेन्जामिन नेतान्याहु र पूर्वसैनिक प्रमुख गादी आइसेनकोट नेतृत्वको विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको हो।
इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन्। सार्वजनिक प्रसारक कान तथा च्यानल १२ र च्यानल १३ ले सार्वजनिक गरेका प्रारम्भिक अनुमानअनुसार आइसेनकोटको याशार पार्टीसहित विपक्षी ‘चेन्ज ब्लक’ र नेतान्याहुको लिकुड पार्टीसहित सत्तारूढ दक्षिणपन्थी तथा अतिधार्मिक यहुदी दलहरूको गठबन्धनबीच सिट संख्या लगभग बराबरी हुने देखिएको थियो। प्रारम्भिक अनुमानमा दुवै पक्षले ५१ सिट पाउने देखिए पनि अर्को प्रसारकको अनुमानमा नेतान्याहुको गठबन्धन तीन सिटले अगाडि थियो।
निर्वाचनको अन्तिम परिणाममा अरब समुदायका दलहरूको भूमिका निर्णायक हुन सक्ने देखिएको छ। प्रारम्भिक एक्जिट पोलले संयुक्त अरब सूची र संयुक्त सूची गरी दुई अरब दलले १८ देखि १९ सिटसम्म जित्न सक्ने अनुमान गरेका छन्। इजरायलको जनसंख्याको करिब पाँचौँ हिस्सा ओगट्ने अरब समुदायका मतदाताको उल्लेख्य सहभागिताले यी दलहरूको संसदीय प्रभाव बढ्न सक्ने देखिएको हो।
मंगलबार सम्पन्न मतदानमा दशकौँयताकै उच्च सहभागिता देखिएको थियो। स्थानीय समयअनुसार राति १० बजे मतदान केन्द्र बन्द हुँदा ७७.७ प्रतिशत मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको थियो। सन् १९९९ यताकै उक्त समयसम्मको उच्च मतदान सहभागिता भएको समितिको भनाइ थियो।
प्रारम्भिक एक्जिट पोल सार्वजनिक भएपछि आइसेनकोटको याशार पार्टीको तेल अभिभस्थित मुख्यालयमा समर्थकहरूले खुसी व्यक्त गर्दै नेतान्याहुको बहिर्गमनको माग गरेका थिए। आइसेनकोटले निर्वाचनलाई ऐतिहासिक उपलब्धि भन्दै जनताको निर्णयलाई स्थिर र सबै नागरिकका लागि उपयुक्त सरकारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए।
उनका सहयोगी तथा पूर्वप्रधानमन्त्री यायर लापिडले नेतान्याहुको गठबन्धनले ठूलो राजनीतिक पराजय बेहोरेको दाबी गरेका थिए। तर, नेतान्याहुको लिकुड पार्टी मुख्यालयमा भने समर्थकहरूले अन्तिम परिणाम नआएसम्म निर्वाचनको नतिजाबारे निष्कर्ष निकाल्न नसकिने बताएका थिए।
नेतान्याहुका सहयोगी तथा विदेशमन्त्री गिडियोन सारले विपक्षी खेमाको उत्सवलाई समयअगावैको संज्ञा दिएका थिए। दक्षिणपन्थी यहुदी शक्ति पार्टीका नेता तथा राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गभिरले पनि अन्तिम परिणामले दक्षिणपन्थी सरकार गठनको बाटो खोल्ने आशा व्यक्त गरेका थिए।
बुधबार बिहान अद्यावधिक गरिएका एक्जिट पोलमा पनि मतपरिणामको अनिश्चितता कायम थियो। कान र च्यानल १३ को अनुमानमा दुवै गठबन्धनले ५१–५१ सिट पाउने देखिएको थियो भने च्यानल १२ ले नेतान्याहुको गठबन्धनलाई ५२ र आइसेनकोटको गठबन्धनलाई ४९ सिट दिएको थियो। पछि नेतान्याहुले आफ्नो गठबन्धनसँग स्पष्ट बहुमत रहेको दाबी गर्दै बलियो दक्षिणपन्थी राष्ट्रिय सरकार गठनको आह्वान गरेका थिए।
अरब दलको भूमिका निर्णायक हुन सक्ने
सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत जुटाउन अरब दलहरूको समर्थन महत्वपूर्ण हुन सक्ने देखिएको छ। संयुक्त अरब सूचीका नेता मन्सुर अब्बासले आफ्नो दल र ‘चेन्ज ब्लक’ मिलेर ६१ सिट पुर्याउने आशा व्यक्त गरेका थिए। संयुक्त सूचीका अध्यक्ष युसेफ जबारिनले पनि आफ्नो दललाई कुनै पनि राजनीतिक समीकरणमा बेवास्ता गर्न नसकिने बताएका थिए।
सन् २०२१ को निर्वाचनपछि अब्बासको दल नफ्ताली बेनेट र यायर लापिड नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो। तर, उक्त सरकार एक वर्षपछि ढलेको थियो।
सन् २०२३ को आक्रमणपछि पहिलो निर्वाचन
मंगलबारको निर्वाचन सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमण र त्यसपछि गाजा, लेबनान तथा इरानसँग सम्बन्धित युद्धहरू सुरु भएयताकै पहिलो आमनिर्वाचन थियो। त्यसैले यसलाई इजरायलको भावी राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण निर्वाचनका रूपमा हेरिएको थियो।
निर्वाचनमा सन् २०२३ को आक्रमणअघि देखिएका सुरक्षा कमजोरीको जवाफदेहिता, क्षेत्रीय युद्धको सञ्चालन, सैनिक सेवाको जिम्मेवारी बाँडफाँट, न्यायिक सुधार र अन्तर्राष्ट्रिय समुदायमा इजरायलको छविजस्ता विषय प्रमुख चुनावी मुद्दा बनेका थिए।
मतदानअघि नेतान्याहु र उनका सहयोगीहरूले आफ्ना समर्थकलाई मतदानमा सहभागी हुन आह्वान गरेका थिए। विशेषगरी वामपन्थी र अरब मतदाताको सहभागिता बढ्न सक्ने भन्दै उनीहरूले आफ्ना समर्थकलाई मतदान नगरे सरकार परिवर्तन हुन सक्ने चेतावनी दिएका थिए।
लिकुडसहित केही दक्षिणपन्थी दलले मतदानको समय थप गर्न माग गरे पनि केन्द्रीय निर्वाचन समितिले त्यसलाई अस्वीकार गरेको थियो। उच्च मतदान सहभागितालाई समितिले लोकतान्त्रिक प्रक्रियामा जनताको बलियो सहभागिताका रूपमा व्याख्या गरेको थियो।
अन्तिम परिणाम र सरकार गठनको प्रक्रिया
प्रारम्भिक परिणाम सार्वजनिक हुन थाले पनि सैन्य कर्मचारीसहितका मतदाताले खसालेका करिब छ लाख अनुपस्थित मतपत्रको गणना बिहीबारसम्म पूर्ण नहुने अनुमान गरिएको थियो। ती मतपत्र कुल मतको करिब १० प्रतिशत रहेको विवरणमा उल्लेख छ।
अन्तिम परिणाम पुष्टि भएपछि इजरायलका राष्ट्रपतिले राजनीतिक दलहरूसँग परामर्श गर्नेछन्। त्यसपछि सरकार गठन गर्न सक्ने सम्भावना बढी भएको दलका नेतालाई सरकार गठनको जिम्मेवारी दिइनेछ। गठबन्धन निर्माणको प्रक्रिया केही सातासम्म लम्बिन सक्नेछ। तोकिएको प्रक्रियाबाट सरकार गठन हुन नसके इजरायलमा पुनः निर्वाचन गर्नुपर्ने अवस्था आउन सक्छ।