राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले विधिसम्मत प्रक्रियाबाट मात्रै उम्मेदवारको टिकट वितरण गर्ने बताएका छन् । पार्टीको विधि र मापदण्डभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने स्पष्ट पार्दै उनले योग्य उम्मेदवारहरूलाई विचलित नहुन आग्रह गरेका छन् ।
शुक्रबार राति वीरगन्जस्थित क्लासिक ब्याङ्क्वेटमा सांसद पन्तद्वारा आयोजित बडादसैंको शुभकामना आदानप्रदान तथा टीका कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीको ‘हामी आउँदैछौँ’ कार्यक्रमको प्रसङ्ग उल्लेख गर्दै पन्तले आगामी निर्वाचनका लागि रास्वपाले उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अघि सारेको बताए । उक्त प्रक्रियाअन्तर्गत उम्मेदवार क्लबबाट प्रशिक्षित, परीक्षण गरिएका र योग्य ठहरिएका व्यक्तिले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउने उनको भनाइ थियो ।
जिल्ला सभापति, प्रदेश सभापति वा कुनै सांसदसँग निकट सम्बन्ध भएकै आधारमा कसैले टिकट नपाउने स्पष्ट पार्दै उनले पार्टीभित्र नातावाद र पहुँचभन्दा विधि तथा योग्यतालाई प्राथमिकता दिइने बताए ।
‘कोही जिल्ला सभापतिको नजिक भएकै भरमा, प्रदेश सभापतिको नजिक भएकै आधारमा वा कुनै माननीयको नातेदार भएकै कारण टिकट पाउने अवस्था हुँदैन,’ उनले भने, ‘त्यसैले योग्य व्यक्तिहरू कोही पनि विचलित हुनुपर्ने अवस्था आउँदैन ।’
जिल्ला संगठन विभागका प्रमुख कृष्ण पासवानले सहजीकरण गरेको कार्यक्रममा सभापति पन्तले उपस्थित व्यक्तिहरूबाट टीका ग्रहण गर्नुका साथै नेता तथा कार्यकर्तालाई टीका लगाएर दसैंको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा रास्वपा पर्साका नेताहरू तुलसा पौडेल, सुदिश प्रजापति, परवेज अख्तरलगायत क्षेत्रीय, पालिका तथा वडा तहका सभापति र नेता–कार्यकर्ताहरूको उपस्थिति थियो ।