चक्रवात ‘अर्नभ’को सम्भावित प्रभावका कारण मधेश प्रदेशलगायतका क्षेत्रमा भारी वर्षा, बाढी, डुबान र हावाहुरीको जोखिम बढ्ने भन्दै पर्सा जिल्लामा २४ सै घण्टा सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ।
जिल्ला विपद् पूर्वतयारी कमाण्ड पोस्टको आज बसेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। बैठकले कात्तिक ११ गतेदेखि १४ गतेसम्म सम्भावित जोखिमलाई मध्यनजर गरी विपद् प्रतिकार्यमा खटिने सम्पूर्ण सुरक्षा निकाय, सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थालाई २४ सै घण्टा ‘अलर्ट’ अवस्थामा रहन निर्णय गरेको छ।
बैठकले पर्सा जिल्लाका सबै स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई तत्काल बैठक बसी विपद् प्रतिकार्यका लागि सक्रिय हुन आग्रह गरेको छ। स्थानीय तहलाई आफ्नो क्षेत्रका जोखिमयुक्त स्थान पहिचान गरी उद्धार सामग्री तथा जनशक्ति तयारी अवस्थामा राख्न, बाढी, डुबान र हावाहुरीबाट प्रभावित हुन सक्ने क्षेत्रका सुरक्षित आश्रयस्थल पहिचान गर्न तथा एम्बुलेन्स, दमकल र जेसीबीजस्ता अत्यावश्यक साधन इन्धनसहित तयारी अवस्थामा राख्न भनिएको छ।
त्यस्तै, सम्भावित वर्षाबाट कृषि क्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरण गर्न किसानलाई समयमै धान भित्र्याउन आग्रह गर्ने निर्णय गरिएको छ। प्राधिकरणको बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारअघि नै पाकेको धान काट्ने, मियाँ लगाउनेलगायतका कृषि कार्य गर्न स्थानीय विपद् व्यवस्थापन समितिमार्फत किसानलाई तत्काल सूचना जारी गरिनेछ। काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न र मौसम अनुकूल नभएसम्म धान नकाट्नसमेत सूचित गर्ने निर्णय भएको छ।
बैठकले चक्रवातको प्रभाव रहने अवधिमा विशेषगरी कात्तिक १२, १३ र १४ गते, सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, हावाहुरी तथा चट्याङका बेला सुरक्षित स्थानमा बस्न र सडक वा अन्य यात्रा नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ।
यसका लागि जिल्ला विपद् प्रतिकार्य कमाण्ड पोस्टले तत्काल सार्वजनिक सूचना जारी गर्ने तथा स्थानीय सञ्चारमाध्यम, एफएम रेडियो र सामाजिक सञ्जालमार्फत व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको छ। पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, रेडक्रस, प्याब्सन, एनप्याब्सन, शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई समेत सूचना प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरिनेछ।