राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमण पूर्णतः व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन्। पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका उनले भ्रमणलाई राजनीतिक विषयसँग जोडेर व्याख्या नगर्न आग्रह गरेका छन्।
शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने त्यहाँबाट कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका थिए। त्यसपछि उनी भारततर्फ प्रस्थान गरेका हुन्।
भारत भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको स्पष्ट पार्दै लामिछानेले व्यक्तिगत विषयलाई राजनीतिक बहसबाट अलग राख्न आग्रह गरे।
‘कुनै राजनीतिक भेटघाट छैन। कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु। यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएकाले कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ। त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु,’ उनले भने।
लामिछानेले आफू कारागारमा रहँदा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम जाने भाकल गरेको उल्लेख गर्दै सोही भाकल पूरा गर्न भारत जान लागेको बताएका छन्।
उनका अनुसार धार्मिक आस्था, विश्वास र पारिवारिक संस्कारका कारण पनि यो भ्रमण तय भएको हो। परिवारका सदस्यहरूसँगै धार्मिक स्थलमा पुगेर पूजाआजा गर्ने योजना रहेको उनले बताए।
‘पहिलादेखि नै जाने एउटा भाकल पनि थियो। धार्मिक आस्था, विश्वास र पारिवारिक संस्कारका कारण पनि जाने सोच थियो। म कारागारमा हुँदा नै भाकल गरेको थिएँ। त्यसलाई पूरा गरौँ भनेर जान लागेको हुँ,’ लामिछानेले भने।
भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ।