उमेर १६ वर्ष, कक्षा ९ मा अध्ययनरत । क्रिकेटको ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर पाएका जनकपुर बोल्ट्सका युवा मध्यम गतिका बलर राहुल यादवले नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रभावशाली प्रदर्शन गर्दै सबैको ध्यान खिचेका छन् ।
मधेश प्रदेशको रौतहटस्थित चन्द्रपुरका राहुलले बिहीबार काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिएर आफ्नो बलिङ क्षमता प्रदर्शन गरे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा उनले चार ओभर बलिङ गर्दै ३१ रन खर्चिएर चार विकेट लिएका हुन् ।
राहुलले साम हेजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई आउट गरे । उनको उत्कृष्ट बलिङका कारण काठमाडौंको ब्याटिङ दबाबमा परेको थियो । काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुर बोल्ट्सले आठ विकेट बाँकी छँदै पूरा गर्दै जित निकालेको थियो ।
राहुलका लागि यो प्रदर्शन एकै दिनमा प्राप्त भएको सफलता भने होइन । उनले यसअघि कर्णाली याक्सविरुद्धको एनपीएल डेब्यु खेलमा पनि आफ्नो क्षमता देखाइसकेका थिए । उक्त खेलमा १५ रन खर्चिएर दुई विकेट लिएका उनले दोस्रो खेलमा चार विकेट लिएर आफ्नो प्रदर्शनलाई थप उचाइ दिएका छन् ।
पहिलो खेलमा केही नर्भस भएका राहुल दोस्रो खेलमा भने आत्मविश्वासका साथ मैदानमा उत्रिए । काठमाडौंविरुद्धको खेलपछि उनले पहिलो बलमै विकेट लिन सफल हुँदा आफ्नो आत्मविश्वास बढेको बताए ।
‘कर्णालीविरुद्धको पहिलो खेल एनपीएलमा मेरो पहिलो थियो । केही नर्भस थिएँ,’ राहुलले भने, ‘पहिलो खेलमा विकेट लिन सफल भएपछि आज त्यो डर भाग्यो । त्यसैले आज विकेट लिन सफल भएँ ।’
राहुलको क्रिकेट यात्रा चन्द्रपुरको खुला मैदानबाट सुरु भएको हो । सामान्य वातावरणमा क्रिकेट खेल्न थालेका उनले चन्द्रपुर क्रिकेट एकेडेमीमा आफ्नो बलिङ कौशल निखारे । कम उमेरमै तीव्र गतिमा बलिङ गर्ने क्षमताका कारण उनले ध्यान आकर्षित गर्न थालेका थिए ।
जनकपुर बोल्ट्सले आयोजना गरेको प्रतिभा खोज प्रतियोगिता (ट्यालेन्ट हन्ट) बाट छनोट भएपछि राहुलले एनपीएलसम्म पुग्ने अवसर पाए । टोलीका आइकोनिक खेलाडीका रूपमा आबद्ध भएका उनका लागि यो प्रतियोगिता आफ्नो प्रतिभा देखाउने ठूलो मञ्च बनेको छ ।
एनपीएलअघि चन्द्रपुर क्रिकेट लिगमा समेत उनले प्रभावशाली प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा ‘म्यान अफ द म्याच’ बनेका राहुलले घरेलु प्रतियोगितामा देखाएको सम्भावनालाई एनपीएलमा समेत निरन्तरता दिएका छन् ।
क्रिकेट नबुझे पनि आफ्नो यात्रामा बुबाले साथ र समर्थन दिएको राहुलले जनकपुर बोल्ट्ससँगको कुराकानीमा बताएका छन् । परिवारको साथ, स्थानीय क्रिकेट एकेडेमीमा गरेको अभ्यास र प्रतिभा खोज प्रतियोगिताबाट प्राप्त अवसरले उनलाई राष्ट्रिय स्तरको फ्रेन्चाइज लिगसम्म पुर्याएको छ ।
सानो उमेरमै एनपीएलजस्तो प्रतियोगितामा दुई खेलबाट छ विकेट लिन सफल राहुलको प्रदर्शनले नेपाली क्रिकेटमा नयाँ प्रतिभा पहिचान गर्ने सम्भावनालाई उजागर गरेको छ । उनको यो सुरुवाती सफलताले आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा जगाएको छ ।