उज्यालो नेपाल पार्टीको मधेस प्रदेश कमिटीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै ‘उज्यालो मिसन मधेस प्रदेश’ अभियान अघि बढाएको छ। अभियानमार्फत पालिका प्रमुख तथा वडा अध्यक्ष पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
पार्टीका मधेस प्रदेश अध्यक्ष रामकिशोर सिंह (पराग) ले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै स्थानीय तहमा नेतृत्व गर्न इच्छुक व्यक्तिहरूलाई उम्मेदवारी तयारी प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन्।
‘सुशासन, समृद्धि, उज्यालो नेपाल’ भन्ने नारासहित अघि बढाइएको अभियानअन्तर्गत इच्छुक व्यक्तिहरूलाई निर्वाचनको तयारी, चुनावी रणनीति, जनसम्पर्क, प्रचारप्रसार, कानुनी जानकारी तथा नेतृत्व विकाससम्बन्धी तालिम र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखिएको अध्यक्ष सिंहले जनाएका छन्।
अभियानले स्थानीय तहमा सक्रिय, शिक्षित तथा जिम्मेवार नेतृत्व विकास गर्दै राजनीतिमा नयाँ पुस्ताको सहभागिता बढाउने लक्ष्य लिएको छ। पार्टीले पालिका प्रमुख र वडा अध्यक्ष पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई समयमै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक वेबसाइट www.unp.org.np मार्फत सदस्यता तथा उम्मेदवारीसम्बन्धी अनलाइन फाराम भर्न सक्नेछन्। थप जानकारीका लागि सम्बन्धित जिल्लाका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीसँग सम्पर्क गर्न सकिने जनाइएको छ।
त्यसैगरी, इच्छुक व्यक्तिहरूले आफ्नो पालिका र वडा स्पष्ट उल्लेख गरी ह्वाट्सएप नम्बर ९७१२०२५१७७ वा ९८५५००११७७ मा सन्देश पठाएर आवश्यक जानकारी लिन सक्नेछन्।
अध्यक्ष सिंहले ‘नयाँ सोच, सक्षम नेतृत्व र उज्यालो भविष्य’ को अवधारणासहित मधेस प्रदेशमा स्थानीय नेतृत्व विकास, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न इच्छुक तथा योग्य व्यक्तिहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।