जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरको जितमा ओपनिङ ब्याटर मोइन अलीले अर्धशतकीय पारी खेले । उनी ५१ बलमा ५८ रन बनाउँदै अविजित रहे । उनले आफ्नो पारीमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै, सैफ हसन ३९ बलमा ४० रन बनाएर अविजित रहे ।
मोइन र सैफले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई जित दिलाए । जनकपुरले ७ रन जोड्दा ओपनर तृतराज दासलाई गुमाएको थियो । उनी ५ रन बनाएर आउट भए । त्यसपछि ३७ रनको अवस्थामा मयन यादव ९ रन बनाएर पभेलियन फर्किए । त्यसपछि मोइन र सैफले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए । काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमै समेटिएको थियो ।
काठमाण्डुलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । राहुलले काठमाण्डुका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमको विकेट लिएका थिए ।
यस्तै, सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले समान एक विकेट हात पारे ।
काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । यद्यपि, काठमाण्डुले खेलमा कुनै पनि ठूलो साझेदारी बनाउन सकेन ।
६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको काठमाण्डुले १९ रनको अवस्थामा हरिशंकर शाहको विकेट गुमायो । साम १ र हरिशंकर ९ रनमा आउट भए । त्यसपछि पनि काठमाण्डुले लगातार विकेट गुमाउँदै गयो ।
रसिद खानले १७, स्मित पटेलले १३, सुमित महर्जनले १०, करण केसीले ८ र जहानदाद खानले ५ रन बनाए । मोहम्मद आदिल आलम पहिलो बलमै एलबीडब्ल्यू आउट भए । रिपोन मोन्डल ९ रन बनाएर आउट हुँदा शाहब आलम ४ रनमा अविजित रहे ।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो खाता खोलेको हो ।
एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।