आजको डिजिटल युगमा मोबाइल फोन, कम्प्युटर, ट्याबलेट, टेलिभिजन तथा अन्य डिजिटल उपकरण हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेका छन्। शिक्षा, रोजगारी, सञ्चार र मनोरञ्जनका लागि स्क्रिनको प्रयोग आवश्यक भइसकेको छ। तर, लामो समयसम्म निरन्तर र असावधानीपूर्वक डिजिटल स्क्रिन प्रयोग गर्दा आँखाको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन्।
सबैभन्दा सामान्य समस्या डिजिटल 'आई स्ट्रेन' हो। लामो समय स्क्रिन हेर्दा आँखामा थकान, पोल्ने, चिलाउने, भारीपन, रातोपन, पानी आउने वा सुख्खापन, टाउको दुख्ने तथा केही समयका लागि धमिलो देखिने समस्या हुन सक्छ। स्क्रिन हेर्दा मानिसले सामान्यभन्दा कम पटक आँखा झिम्काउने भएकाले आँखाको सतहमा रहेको आँसुको तह छिटो सुक्छ र 'ड्राइ आई'का लक्षण बढ्न सक्छन्।
विशेषगरी बालबालिकाको आँखाको स्वास्थ्यमा हामीले बढी ध्यान दिनुपर्छ। लामो समय मोबाइल वा ट्याबलेट नजिकबाट हेर्ने, लगातार नजिकको काम गर्ने र बाहिर प्राकृतिक प्रकाशमा खेल्ने समय कम हुने अवस्थाले मायोपिया अर्थात् ‘माइनस पावर’ बढ्ने जोखिमसँग सम्बन्धित देखिन्छ। त्यसैले बालबालिकालाई मोबाइलमा मात्र व्यस्त राख्नुको सट्टा नियमित रूपमा बाहिर खेल्ने र प्राकृतिक प्रकाशमा समय बिताउने अवसर दिनुपर्छ।
तर एउटा कुरा स्पष्ट गर्न आवश्यक छ—सामान्य मोबाइल वा कम्प्युटरको स्क्रिन हेर्दैमा आँखाको ज्योति स्थायी रूपमा नष्ट हुन्छ भन्ने होइन। मुख्य समस्या अत्यधिक समय, नजिकको दूरी, गलत प्रकाश र पर्याप्त विश्रामको अभाव हो।
आँखालाई स्वस्थ राख्न हामीले २०–२०–२० नियम अपनाउन सक्छौँ-हरेक २० मिनेटमा कम्तीमा २० सेकेन्डका लागि २० फिट टाढाको वस्तु हेर्ने। साथै, नियमित रूपमा आँखा झिम्काउने, स्क्रिनलाई उचित दूरीमा राख्ने, ब्राइटनेस वातावरणअनुसार मिलाउने, पर्याप्त विश्राम लिने र बच्चाहरूलाई आयट डोर एक्टिभिटी बढाउने गर्नुपर्छ।
यदि आँखामा लगातार दुखाइ, अत्यधिक सुख्खापन, दृष्टि धमिलो हुने, बारम्बार टाउको दुख्ने वा दृष्टिमा अचानक परिवर्तन देखिएमा नेत्ररोग विशेषज्ञबाट आँखा जाँच गराउनु आवश्यक हुन्छ। अन्ततः हाम्रो सन्देश सरल छ-डिजिटल प्रविधि त्याग्नु आवश्यक छैन, तर आँखाको स्वास्थ्यलाई ध्यानमा राखेर स्मार्ट र सन्तुलित रूपमा प्रयोग गर्नु आवश्यक छ।
डा. तुल्स्यान राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पतालका मेडिकल डाइरेक्टर हुन् ।