नेपालीहरूको महान् चाड बडादसैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा मनाइँदै छ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरि जाग्राम बस्ने धार्मिक परम्परा छ ।
धार्मिक विश्वासअनुसार, कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेर महालक्ष्मीको पूजा गरे देवी प्रसन्न भई घरमा प्रवेश गर्ने र धनधान्य तथा समृद्धि प्रदान गर्ने मान्यता छ । ‘को जागेको छ ?’ भन्ने अर्थ बोकेको यस पर्वलाई कौमुदी पूर्णिमा पनि भनिन्छ ।
आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको दसैंको टीका र जमरा लगाउने क्रम आज आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज बेलुकी अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसादस्वरूप दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ ।
कोजाग्रत पूर्णिमाका दिन बिहान दसैंघरमा रहेका फूलप्रसाद तथा जमराका अवशेष नजिकैको नदी, तलाउ, पोखरी वा अन्य तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ । यससँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैं औपचारिक रूपमा समाप्त हुन्छ ।
कोजाग्रत पूर्णिमापछि भोलिदेखि कात्तिक स्नान तथा आकाशदीप दान गर्ने धार्मिक परम्परा सुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गर्ने र घरघरमा तुलसी पूजा गर्ने प्रचलन छ ।
कात्तिक स्नान गर्नेहरूले यस अवधिमा मास, मुगी, मुसुरो, चना र भटमासलगायतका दुई दल भएका अन्न खान नहुने शास्त्रीय मान्यता पनि रहिआएको छ ।
यसरी कोजाग्रत पूर्णिमाले दसैंको उत्सवलाई बिदाइ गर्दै तिहारलगायत आगामी पर्वको तयारी र धार्मिक अनुष्ठानको नयाँ चरणको सुरुवात गर्ने अवसरका रूपमा महत्त्व राख्छ ।