नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको डिजिटल प्रसारण अधिकार पाएको नेटटिभीले प्रतियोगिताका खेलको गैरकानुनी प्रसारण (पाइरेसी) रोक्न अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालन गर्ने भएको छ।
सामाजिक सञ्जाल, विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत एनपीएलका खेल अनधिकृत रूपमा प्रत्यक्ष प्रसारण गर्ने क्रम बढेपछि नेटटिभीले त्यस्ता गतिविधि नियन्त्रण गर्न नयाँ रणनीति अपनाएको हो।
नेटटिभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरन राजभण्डारीका अनुसार गैरकानुनी रूपमा प्रसारण भइरहेका सामग्री पहिचान गरी हटाउन सम्बन्धित प्लेटफर्ममा उजुरी तथा स्ट्राइक पठाउने उद्देश्यले अन्तर्राष्ट्रिय विज्ञ टोली तयार पारिएको छ।
राजभण्डारीले टेकपानासँग कुरा गर्दै गैरकानुनी प्रसारणका लिङ्क हटाउने काम यसअघि नै सुरु भइसकेको र परीक्षणका क्रममा पठाइएका स्ट्राइक सफल भएको बताएका छन्। उनका अनुसार अब विज्ञ टोली पूर्ण रूपमा सक्रिय हुनेछ, जसले अन्तर्राष्ट्रिय तथा स्थानीय दुवै स्तरमा हुने पाइरेसी नियन्त्रणमा काम गर्नेछ।
कम्पनीले गैरकानुनी प्रसारण पहिचान गर्न स्वचालित निगरानी प्रणालीसमेत प्रयोग गर्ने जनाएको छ। ‘अटो ट्र्याकिङ सिस्टम’ मा आधारित उक्त प्रविधिले फेसबुक, विभिन्न अनलाइन पोर्टल तथा अनधिकृत मोबाइल एपबाट प्रसारण भइरहेका खेलका फिड पहिचान गर्नेछ। त्यसपछि सम्बन्धित प्लेटफर्ममा कारबाहीका लागि प्रक्रिया अघि बढाइनेछ।
खेल सुरु भएपछि मात्र प्रसारण गर्ने र उजुरी वा प्रतिलिपि अधिकारसम्बन्धी दाबी आएपछि प्रसारण बन्द गर्ने केही स्थानीय एप तथा वेबसाइटमाथि पनि नेटटिभीले निगरानी राखेको जनाएको छ। यस्ता गतिविधि जारी रहे आवश्यक कानुनी प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले भिडियो सन्देश जारी गर्दै क्रिकेट समर्थकलाई पाइरेसी नगर्न र गैरकानुनी माध्यमबाट खेल नहेर्न आग्रह गरेका थिए। उनले आधिकारिक प्रसारण प्लेटफर्मको सदस्यता लिनु नेपाली क्रिकेटको विकासका लागि महत्त्वपूर्ण रहेको बताएका थिए।
खड्काका अनुसार आधिकारिक माध्यमबाट हुने प्रत्येक सदस्यता र सहकार्यले नेपाली क्रिकेटलाई आर्थिक तथा संस्थागत रूपमा बलियो बनाउन सहयोग पुर्याउँछ। क्रिकेट समर्थकले आधिकारिक प्रसारण माध्यमबाट मात्रै खेल हेरेर नेपाली क्रिकेटको विकासमा योगदान दिनुपर्ने उनको आग्रह थियो।
एनपीएलको डिजिटल प्रसारण अधिकारको संरक्षणसँगै प्रतियोगिताको व्यावसायिक मूल्य कायम राख्न र नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहयोग पुर्याउन पाइरेसी नियन्त्रणलाई महत्त्वपूर्ण मानिएको छ।