पर्यटकलाई अनलाइनबाटै टिकट काट्ने सुविधा दिने प्रक्रिया सुरु गरेको झण्डै तीन वर्षपछि चितवन राष्ट्रिय निकुञ्जले ई–टिकटिङ सेवा सञ्चालनमा ल्याएको छ। निकुञ्जले बिहीबारदेखि सौराहा पोस्टबाट परीक्षणका रूपमा अनलाइन टिकट काट्ने व्यवस्था सुरु गरेको हो।
निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार परीक्षण सफल भएमा निकुञ्ज प्रवेश गर्ने अन्य नाकामा समेत अनलाइन टिकट प्रणाली विस्तार गरिनेछ।
वन्यजन्तु अवलोकनका लागि सबैभन्दा बढी पर्यटक पुग्ने चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकटको व्यवस्था नहुँदा होटल तथा पर्यटन व्यवसायीले लामो समयदेखि समस्या भोग्दै आएका थिए। टिकट लिन पर्यटक तथा व्यवसायीले भौतिक रूपमा पोस्टमै पुगेर नगद बुझाउनुपर्ने बाध्यता थियो।
निकुञ्ज प्रवेशका लागि प्रयोग हुने विभिन्न नाकामध्ये सौराहाबाट सबैभन्दा बढी पर्यटक आउने भएकाले त्यहीँबाट सेवा सुरु गरिएको पुनले बताए। उनका अनुसार निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी सौराहा नाकाबाट प्रवेश गर्छन्।
‘हाम्रोमा धेरै आइटमहरू छन्। अघिल्लो कार्यकालमा म हुँदा नै अनलाइन टिकटमा जाने भनेर तयारी गरिएको थियो, तर निकै ढिला भयो,’ पुनले भने, ‘अहिले सौराहा क्षेत्रबाट परीक्षण सुरु गरेका छौँ। यसको अवस्था हेरेर अन्य नाकामा पनि अनलाइन टिकट काट्ने व्यवस्था गरिनेछ।’
निकुञ्जले अनलाइन टिकट प्रणालीबारे पर्यटन व्यवसायीलाई तालिम दिने र प्रयोगसम्बन्धी भिडियो सामग्री तयार गर्ने योजना पनि बनाएको छ। पार्क सफारी होटलका सञ्चालक महेश खनालले अनलाइन टिकट सेवाले सौराहाबाट निकुञ्ज घुम्न जाने पर्यटकलाई सहज हुने बताए।
अब पर्यटकले अनलाइनबाट आवश्यक विवरण भरेर राजस्वसमेत भुक्तानी गर्न सक्नेछन्। प्रक्रिया पूरा भएपछि क्यूआर कोड उपलब्ध हुनेछ, जसलाई प्रवेशका क्रममा देखाएर निकुञ्ज भ्रमण गर्न सकिनेछ। टिकट एक दिनका लागि मात्र मान्य हुनेछ।
अनलाइन टिकट प्रणालीले टिकट लिन हुने भीडभाड घटाउनुका साथै पर्यटकको विवरण व्यवस्थित गर्न, राजस्व संकलनमा सहजता ल्याउन र निकुञ्जको प्रचारप्रसार बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पर्यटकले जुनसुकै स्थानबाट टिकट काट्न सक्ने भएकाले समयको बचत हुने र निकुञ्ज भ्रमणको योजना बनाउन पनि सहज हुने विश्वास गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायत दुर्लभ वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी र जैविक विविधता अवलोकन गर्न पाइन्छ। निकुञ्ज प्रवेश गर्न नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकले दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। पर्यटक बोक्ने जिपले प्रत्येक प्रवेशमा पाँच हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ।
निकुञ्जमा दैनिक ६० वटा जिपलाई सफारीका लागि अनुमति दिइन्छ। तीमध्ये ३० वटा जिप बिहान र ३० वटा दिउँसो निकुञ्ज प्रवेश गर्न पाउँछन्।
निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल दुई लाख ७२ हजार ९२३ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये दुई लाख ३७ हजार २५ जना सौराहा नाकाबाट प्रवेश गरेका थिए। भ्रमण गर्ने पर्यटकमध्ये एक लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क मुलुकका र ८८ हजार ६६५ अन्य विदेशी नागरिक थिए।
राष्ट्रिय निकुञ्जमध्ये ई–टिकटिङ सेवा सञ्चालन गर्ने चितवन दोस्रो निकुञ्ज बनेको छ। यसअघि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा यस्तो सेवा सुरु भइसकेको छ।