दिल्लीमा शिक्षामन्त्रीको राजीनामा माग्दै विद्यार्थीहरूले गरेको प्रदर्शनका क्रममा प्रहरी भ्यान अगाडि एक्लै उभिएकी युवतीको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर लैजान खोजिरहेको प्रहरी भ्यानलाई उनले एक्लै रोकेपछि उक्त दृश्य आन्दोलन, प्रहरी हस्तक्षेप र नागरिक प्रतिरोधबारे व्यापक बहसको विषय बनेको हो।
भिडियोमा शिवाजी पार्क अगाडि पक्राउ गरिएका प्रदर्शनकारीहरू बोकेको प्रहरी भ्यान अगाडि बढ्न खोजिरहेको देखिन्छ। त्यही बेला ती युवती भ्यानको अगाडि उभिएर प्रदर्शनकारीहरूको रिहाइको माग गर्दै प्रहरीसँग कुरा गरिरहेकी देखिन्छिन्। भिडियोमा उनी र प्रहरीबीच भएको संवाद भने स्पष्ट सुनिँदैन। केही समयपछि अन्य प्रदर्शनकारी पनि त्यहाँ भेला हुन्छन्।
भिडियो सार्वजनिक भएपछि आन्दोलन समर्थकहरूले यसलाई विद्यार्थीमाथि भएको प्रहरी दमनविरुद्धको प्रतीकात्मक प्रतिरोधका रूपमा व्याख्या गर्दै युवतीको साहसको प्रशंसा गरेका छन्।
भिडियो भाइरल भएपछि भारतीय सञ्चारमाध्यमहरूले ती युवतीको पहिचान गरेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार उनी २७ वर्षीया मोडल रिया अहिर हुन्।
रिपोर्टअनुसार बुधबार अपराह्न करिब ४ः ३० बजे रिया शिवाजी पार्क क्षेत्र हुँदै हिँडिरहेकी थिइन्। त्यही बेला पक्राउ गरिएका प्रदर्शनकारीहरूले भरिएको प्रहरी भ्यान देखेपछि उनी रोकिइन्। भ्यानभित्रको अवस्था देखेर आफू निकै विचलित भएको उनले बताएकी छन्।
‘भ्यान अगाडिदेखि पछाडिसम्म भरिएको थियो। उभिनसमेत ठाउँ थिएन,’ उनले हिन्दुस्तान टाइम्ससँग भनेकी छन्।
प्रदर्शनकारीहरूलाई अनावश्यक रूपमा हिरासतमा लिइँदैछ भन्ने महसुस भएपछि उनी भ्यानतर्फ दौडिइन् र त्यसको अगाडि उभिइन्। ‘मैले आफैँलाई रोक्नै सकिनँ। उनीहरूको नाराबाजीले मलाई त्यता तानेको हो,’ उनले भनिन्।
त्यसपछि उनको प्रहरीसँग केहीबेर विवाद भयो। प्रहरी अधिकारीहरूले प्रदर्शनकारीहरूलाई केही टाढा लगेर रिहा गर्ने आश्वासन दिएका थिए। तर रियाले तत्काल रिहाइको माग गर्दै आफ्नो अडान कायम राखिन्।
‘जब मैले प्रहरीको सामना गरेँ, म भित्रभित्रै कामिरहेकी थिएँ। तर मैले गरिरहेको काम सही थियो भन्नेमा विश्वस्त थिएँ,’ उनले बताइन्।
रिया अहिर प्रहरी भ्यानको अगाडि तबसम्म उभिइरहिन्, जबसम्म प्रहरी अधिकारीहरूले प्रदर्शनकारीहरूलाई रिहा गरेनन्। प्रदर्शनकारीहरू भ्यानबाट बाहिर निस्किएपछि धेरैले उनीकहाँ पुगेर धन्यवाद व्यक्त गरेका थिए।