नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले यसअघि सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष डा. बिशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा कविता खड्का, सचिवमा सुरेश बिडारी र कोषाध्यक्षमा अजमत अली अन्सारी चयन भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यमा गीता भण्डारी, सूर्य शुभचिन्तक, रेणु गुप्ता, देवी सापकोटा, नवराज रिजाल, किशुन दयाल श्रीकृष्ण र देवराज खरेल चयन भएका छन् ।
साधारण सभालाई सम्बोधन गर्दै प्रतिष्ठानका संस्थापक एवं वरिष्ठ सल्लाहकार जगदिश शर्माले साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै संस्थाको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
साहित्यकार गणेश प्रसाद लाठले वीरगञ्जको पठन संस्कृतिको विस्तार गर्दै नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्नुपर्ने बताए । उनले वीरगञ्जमा पुस्तक मेला लगायतका साहित्यिक कार्यक्रम आयोजना गर्न आग्रह गर्दै पर्यावरण र प्रकृतिजस्ता विषयलाई समेत साहित्यसँग जोडेर अघि बढ्नुपर्ने धारणा राखे ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगञ्ज व्यावसायिक सहरका रूपमा परिचित भए पनि यहाँको साहित्यिक पृष्ठभूमिको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले प्रतिष्ठानलाई वीरगञ्जमा मात्र सीमित नराखी समग्र मधेश प्रदेश तथा साविक नारायणी अञ्चलअन्तर्गतका मकवानपुर र चितवनका साहित्यकारलाई समेत समेट्ने सशक्त संस्थाका रूपमा विकास गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा र पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष गौतमले अग्रजहरूको सम्मान गर्दै उनीहरूका सल्लाह र सुझावलाई आत्मसात् गरी सहकर्मीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नयाँ पुस्तालाई साहित्यसँग जोड्दै प्रतिष्ठानलाई थप सुदृढ र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न पहल गर्ने बताए ।