नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ।
मधेश र बागमती प्रदेशको अन्तिम मतपरिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको सबै पदको मतगणना सकिएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना बिहीबार राति नै सम्पन्न भएको थियो।
त्यस्तै, सहमहामन्त्रीसहित खुला तथा महिला केन्द्रीय सदस्य चयन हुने खसआर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको उनले बताए। सबै मतपरिणाम रुजु गर्ने काम भइरहेकाले केही बेरमै औपचारिक नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो।
यसअघि अन्य पदको मतगणना सम्पन्न भइसकेको थियो। कटुवालका अनुसार १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक भने ७ हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ।
मतगणना सुरु भएदेखि नै दिनरात गरी करिब २५ समूह बनाएर गणना गरिएको उनले बताए। उनका अनुसार निर्वाचनका क्रममा कुनै विवाद सिर्जना नभई सौहार्दपूर्ण वातावरणमा मतदान तथा मतगणना सम्पन्न भएको छ।
यसपटक करिब १ लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ।
निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी गरिएको छ। त्यसपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन्।
उक्त बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी तथा रणनीतिसम्बन्धी खाकासमेत तयार गर्ने तयारी रहेको बताइएको छ।