नेपाल विद्युत् प्राधिकरणले दसैं अवधिभर विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले शुक्रबार प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँग भर्चुअल बैठक गरी विद्युत् आपूर्तिमा अवरोध हुन नदिन निर्देशन दिएका हुन्।
दसैंमा औद्योगिक तथा व्यावसायिक गतिविधि घट्ने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले प्रणालीको सुरक्षित सञ्चालनलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ।
कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा अवरोध भए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्। प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गर्नसमेत सम्बन्धित कार्यालय प्रमुखहरूलाई भनिएको छ।
त्यस्तै, दसैंका समयमा विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा आउने फोन उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ।
प्राधिकरणले विद्युत्को माग तथा आपूर्तिको अवस्थालाई निरन्तर निगरानी गर्दै सम्भावित समस्या न्यूनीकरणका लागि सम्बन्धित कार्यालय र प्राविधिक टोलीलाई आवश्यक समन्वय तथा तयारीसहित परिचालन गर्ने जनाएको छ।
यसैबीच, प्राधिकरणले चाडपर्वका बेला विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ।
विद्युत् आपूर्तिमा समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।