विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा वीरगञ्जमा सुरक्षित लगानी, डिजिटल ठगी तथा वित्तीय अपराधबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्यानल छलफल तथा विद्यार्थी नाटक प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ।
मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमबीएएन) को आयोजनामा वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित सरोवर पोर्टिकोमा कार्यक्रम सम्पन्न भएको हो। ‘लगानीकर्ताको प्रतिरोध क्षमता, डिजिटल छलकपट र ठगीप्रति सतर्कता’ विषयमा आयोजित कार्यक्रमको नारा ‘आफ्नो भविष्यमा लगानी गरौँ, आजै त्यसको सुरक्षा गरौँ’ रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्य थिए। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, वीरगञ्ज पब्लिक कलेजका सहप्रधानाध्यापक डा. अरविन्द श्रेष्ठ, नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जका अध्यक्ष चन्दन सिंहलगायतको उपस्थिति थियो।
कार्यक्रममा विद्यार्थीहरूले सुरक्षित लगानी, वित्तीय सचेतना तथा डिजिटल ठगीबाट बच्ने उपायबारे सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए। प्रस्तुतिमार्फत लगानी गर्नुअघि आवश्यक जानकारी लिनुपर्ने, जोखिमको मूल्याङ्कन गर्नुपर्ने र शंकास्पद डिजिटल प्रस्तावबाट सतर्क रहनुपर्ने सन्देश दिइएको थियो।
कार्यक्रमअन्तर्गत आयोजित प्यानल छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का निर्देशक रेवत श्रेष्ठ, एमबीएएनका कार्यकारी सदस्य तथा एनआईएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गाना, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल र एनवाईईएफ वीरगञ्जका अध्यक्ष चन्दन सिंह सहभागी भएका थिए। छलफलको सहजीकरण डा. अरविन्द श्रेष्ठले गरेका थिए।
त्यस्तै, एमबीएएनका कार्यकारी सदस्य तथा नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरे र सेबोनका बसन्त लामिछानेसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको पनि सहभागिता थियो।
छलफलमा लगानीसम्बन्धी निर्णय गर्दा आधिकारिक तथा विश्वसनीय स्रोतबाट सूचना लिनुपर्ने, लगानी गर्ने संस्थाको वैधानिकता जाँच गर्नुपर्ने र डिजिटल माध्यमबाट आउने शंकास्पद प्रस्तावप्रति सचेत रहनुपर्ने विषयमा जोड दिइएको थियो।
विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थी, युवा उद्यमी तथा सर्वसाधारणमा वित्तीय साक्षरता बढाउनुका साथै सुरक्षित र जिम्मेवार लगानीको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रम वीरगञ्ज पब्लिक कलेजका प्रोफेसर बासु कर्णको सहजीकरणमा सम्पन्न भएको थियो।